२० फागुन, मेचीनगर : नेपाल स्काउट मेचीनगर तदर्थ समितिको आयोजनामा तीनदिवसीय प्रथम नगरस्तरीय दल नायक तालिम समउद्घाटन भएको छ । मेचीनगर नगरपालिका क्षेत्रका २३ वटा विद्यालयका ४५ जना विद्यार्थीहरु सहभागी रहेको तालिमको उद्घाटन नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि भूवन सूब्बाले गर्नु भएको थियो ।
तालिम उद्घाटन गर्दै वहाँले तालिम पछि विद्यार्थीहरुमा आफ्नो दलको नेतृत्व गर्न सबल भन्ने विश्वास व्यक्त गर्नुभयो । स्काउटिङ्ग एउटा विशुद्ध अनौपचारिक शैक्षिक कार्यक्रम भएकोले यसले बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक एवम् सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा प्रमुख अतिथि सुब्बाले बताउनु भयो ।
कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कटुवाल, काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष एवम् काँकरभिट्टा रोभर/रेन्जर क्रियूका अध्यक्ष राजकुमार पराजुलीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल स्काउट मेचीनगर नगर तदर्थ समिति संयोजक रीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षक एवम् कोर्स लिडर भगिरथ राईले स्वागत गर्नुभएको थियो भने सहायक राष्ट्रिय प्रशिक्षक एवम् कोर्स लिडर शिवानी देवानले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । तालिम यही फागुन २२ गते सम्म सञ्चालन हुनेछ ।



























