सन्दर्भ पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस : कम्युनिष्ट आन्दोलनका प्रणेता र इतिहासपुरुष पुष्पलाल

A notice in Nepali from Mechinagar Ward No. 10

आज २०८० साल साउन ७ गते  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस । सामान्यतया पुष्पलाल भन्नेबित्तिकै सबैको मानसपटलमा ‘कम्युनिष्ट’ भन्ने चिजको स्मरण गराउँछ । १५ असार १९८१ मा पूर्व २ नं. रामेछाप जिल्लाको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो ।

आज उहाँको योगदानको स्मरण गरी ४५ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइन्छ । विशेषगरीः नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको योगदानको सम्झना गर्ने गर्दछन् ।

राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ पुष्पलाल

पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने पहिलो नेता हुनुहुन्छ ।

१९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहितलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा दाजुलाई भेट्न पुग्नुभएको पुष्पलाललाई दाजु गंगालालले भन्नुभएको थियो ‘माइला ! मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले प्रज्ज्वलित गर्नेछस्, निभ्न दिने छैनस् ।’ त्यसवेला पुष्पलाल १६ वर्षको कलिलो उमेरको हुनुहुन्थयो ।

अन्ततः पुष्पलालकालागि दाजुको त्यही भनाइ राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बन्यो र वि.सं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभएको इतिहास छ । राणा विरोधी आन्दोलनका शहीद गङ्गालालको हत्या भएपछि सानै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय हुनुभयो पुष्पलाल । दाजु गंगालालको हत्या पश्चात राणाशाहीको जरो काट्ने प्रण पुष्पलालले गरर्नुभयो । छोरा राजनीतिमा लागेकै कारण मालका सुब्बा पिता भक्तलाल जागिर खोसिएको थियो।

नेपाल कम्यूनिष्ट पार्टीको संस्थापकमध्येका एक पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले १० वैशाख २००६ (२२ अप्रिल १९४९ ) का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना

गर्नुभएको थियो । नेपालमा जहानियाँ राणाशासन कायम रहेका बेला भारतको कलकत्ता, श्याम बजारमा गोप्य रूपमा र भूमिगत तरिकाबाट नेपाल कम्युनिष्ट पार्टी स्थापना गरियो । त्यहीबेला संस्थापक महासचिव पुष्पलालले नेतृत्व गरेर उहाँसहित ६ जना पुष्पलाल, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, मोतीदेवी, निरन्जन गोविन्द वैद्य संस्थापकको रूपमा चिनिनुभयो ।

उहाँहरुकै सक्रियतामा श्याम बजारस्थित नवीन सरकार घर नं. ३८ मा नेपाल कम्युनिस्ट पार्टीको गठन भएपछि पुष्पलालको साङ्गठनिक क्षेत्रको सर्वोच्च योगदान यहि रहन पुग्यो । यस ऐतिहासिक कार्यमा भारतीय कम्यूनिष्ट पार्टीका नृपेन्द्र चक्रवर्तीको सहयोग रहेको थियो ।

नेकपा स्थापना गर्दा पुष्पलालले घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख गर्नुभएको जानकारहरु बताउँछन् । कम्युनिष्ट घोषणापत्रको नेपाली रूपान्तरण गर्दै पुष्पलालले ‘केही कुरा’ शीर्षक दिएर लेख्नु भएको थियो रे । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लडि रहनुभयो ।

पुष्पलाल राजनीतिज्ञ मात्रै हुनुहुन्थ्यो निरंकुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार व्यक्तित्वका धनी इतिहास, समाजशास्त्र, मानव शास्त्रका विषयमा समेत गहिरो ज्ञान थियो। बहुआयामिक प्रतिभा पुष्पलालको परराष्ट्र मामलामा समेत धेरै राम्रो सुझबुझयुक्त विचार रहेको उहाँलाई नजीकबाट चिन्नेहरु बताउँछन् । आफ्नो जीवनभर सङ्गठन विस्तारमै लाग्नुहुने उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो ।

२०१७ सालको राजाको कदम पछाडि उहाँले भूमिगत निर्वासित जीवन विताउनुभयो । भूमिगत निर्वासित जीवनमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनः सङ्गठित गरी संयुक्त जनआन्दोलनको आवश्यकता र औँचित्य पुष्टि गर्न अहोरात्र लाग्नुभयो उहाँ । नेपाली जनताको वास्तविक मुक्तिका निम्ति केवल राणा शासनको अन्त्यबाट मात्र सम्भव छैन । यस निम्ति आंल–अमेरिकी साम्रज्यवादको आडभरोसामा टिकेको सिङ्गो सामन्ती व्यवस्थामाथि नै प्रहार गर्नुपर्छ । यो तत्कालमा राणा शासनको अन्त्य गर्दा पुग्दैन भन्ने सन्देश उहाँले त्यसवेलै दिनुभएको थियो ।

बनारसको दशपुत्र गल्लीस्थित गोकुलनाथ नायकको घरमा १७ वर्ष रहेर पार्टी हेडक्वाटर त्यहीँबाट चलाउनुभयो उहाँले । पुष्पलालले नेपाली बाम राजनीतिलाई स्थापना र दरिलो बलियो बनाउँनु त भयो तर, उहाँलाई २०१६ सालमा मोहनविक्रम सिंहबाट पुस्तिका प्रकाशन गरेरै गद्दार घोषित गर्ने कार्य भएको भनाई पनि सुनिन्छ । यो प्रयास त्यसै सेलाएर गयो, असफल सावित भयो। किन कि कालान्तरमा न त पुष्पलाल नै गद्दार हुनुभयो न त घोषणाकर्ता नै नेपाली कम्युनिस्ट आन्दोलनको मियो नै बन्नुभयो ।

वास्तवमा जनवादको नारा उहाँले नै पहिलो पटक लगाउँनुभयो । पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदान अतुलनीय छ । उहाँलाई मौलिकवादी चिन्तक पनि मानिन्छ । उनले गणतन्त्रको नारा लगाउँदै क्रान्तिको दिशानिर्देश गर्नुभयो भने द्वन्द्ववादी दृष्टिकोणको विचार विश्लेषण गर्ने सबै कुराको श्रेय पुष्पलाललाई जान्छ । २००६ सालपछि नेपाली समाजलाई हेर्ने वैज्ञानिक दृष्टिकोण पनि पुष्पलालले अगाडि सानुृभयो । त्यसअघि पहिला धार्मिक कुराले समाजलाई गाँजेको थियो । त्यसबेला नेपालमा ईश्वरले यो पृथ्वी सिर्जना गरेको, जे कुरा हुन्छ ईश्वरको देन वा कृपाका कारणले हुन्छ भन्ने जुन धार्मिक अतिवादी सोच थियो ! त्यो सोचभन्दा फरक भौतिकवादी दृष्टिकोणले हेर्न बाध्य पार्ने श्रेय पनि पुष्पलाललाई नै जान्छ ।

पुष्पलाल जुनसुकै विषयमा पनि अतिवादी हुनुहुँदैन भन्ने विचारधारा राख्थे । कम्युनिष्ट पार्टी संगठन, नेता, सिद्धान्त र संघर्षबाट बन्ने प्रगतिशील पार्टी हो र यसको मेरुदण्ड पनि यिनै विषय हुन् भन्ने मान्यता उनको थियो । २००८ सालको पहिलो सम्मेलनबाट उनी आफैंले स्थापना गरेको पार्टीको महासचिव पदबाट हटाइए र उक्त पदमा मनमोहन अधिकारी पुग्नुभयो ।

कम्युनिष्ट पार्टीको एकता नै नेपालमा कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो सफलता थियो । पाँच वर्षको लागि बनाइएको दुई तिहाइ नजिकको कम्युनिष्ट सरकार तीन वर्ष जसोतसो चल्यो । कम्युनिष्ट पार्टी विभिन्न गुट, समूह मिलेर छियाछिया भएसँगै आजसम्म २००६ देखि २०८० साउन ७ गतेसम्म आइपुग्दा विभिन्न आरोह र अवरोहको अवरोध पार गर्दै यहाँसम्म आइपुगेको छ ।

पुष्पलालको शक्ति विचार हो । उहाँकै विचारका कारणले कम्युनिष्ट पार्टी अहिलेसम्म जीवित छ । सामान्य नेता आन्दोलनले जन्माउँछ ! त्यसले आन्दोलन र विद्रोह पनि जन्माउँछ भन्ने प्रमाण पुष्पलाल हुहुहुन्छ । नेपालमा ने.क.पा. र कम्युनिष्ट आन्दोलनका प्रणेता र इतिहासपुरुष पुष्पलाल हुनुहुन्छ उहाँलाई नसम्झी कम्युनिष्ट पार्टी सम्झनु अपुरो र साँघुरो रहन्छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

पुष्पलालको ४५ औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँले देखाएको बाटोमा हिड्न नेपाल कम्यूनिष्ट पार्टीका नेता कार्यकर्ताहरुमा आग्रह र अनुरोधसहित इतिश्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.