काठमाडौं – प्रेस चौतारी नेपालले आफ्नो १०औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। बिहीबार संगठनको केन्द्रीय कार्यालयमा चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले लोगो सार्वजनिक गर्नुभएको हो।
प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुँदैछ। २०८१ चैत १० देखि १२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।
महाधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ राखिएको छ। सार्वजनिक गरिएको लोगोमा नेपालको गौरवको प्रतीक विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेटिएको छ। साथै, इलामको श्रीअन्तुको सूर्योदय दृश्य, नेपालको सबैभन्दा होचो भूभाग झापाको केचनाकवल, कोशी टप्पु वन्यजन्तु आरक्ष, भोजपुर, खोटाङ, सोलुखुम्बु क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक धरोहर मुन्धुम ट्रेल, कञ्चनजङ्घा (ताप्लेजुङ), मकालु (सङ्खुवासभा), भेडेटार-हिले (धनकुटा), धरान, विराटनगर लगायतका प्रमुख स्थानलाई लोगोमा समावेश गरिएको छ।
त्यस्तै, सङ्खुवासभा, तेह्रथुम, र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तिनजुरे–मिल्के-जलजले (टिएमजे), चिया बगान लगायतका प्राकृतिक र ऐतिहासिक धरोहरहरू पनि लोगोमा स्थान दिइएको छ।


























