सुनसरी । राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान बनेको इटहरी–५ स्थित काव्य वाटिका नमास्न, यसलाई कृति र प्रकृतिकै तीर्थस्थलका रूपमा विकास गर्न इटहरी स्रष्टा तथा सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन् ।
इटहरी साहित्यिक समूह तथा स्वतन्त्र समूह इटहरीका तर्फबाट मङ्गलबार इटहरी उपमहानगरपालिकामा काव्य वाटिकाको अस्तित्व अक्षुण्ण राख्न माग गर्दै ज्ञापन–पत्र दर्ता गराइएको छ ।

कला, साहित्य र संस्कृतिको धरोहर काव्य वाटिका स्थानीय सरकारको अगुवाइमा अतिक्रमण हुनलागेकोप्रति दुःख व्यक्त गर्दै इसासको विज्ञाप्तिमा भनिएको छ, ‘समाज तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने आधिकारिक निकायबाटै सरोकारवाला पक्षको सहमतिबिना हुनलागेको कला, साहित्य, संस्कृतिजस्ता सामाजिक सम्पत्ति नष्ट वा अतिक्रमण गर्ने क्रम रोक्न ध्यानाकर्षण गराउँछौँ ।’
काव्य वाटिकाको संरक्षण गर्नु सबैको दायित्व भएको स्मरण गर्दै इसासले भनेको छ, ‘यस क्षेत्रमा स्थापित कला, साहित्य, संस्कृतिसम्बद्ध पक्ष तथा विज्ञहरूको परामर्श र साझा सहमतिबाट समस्या समाधान गरी काव्य वाटिकाको अस्तित्व अक्षुण्ण राख्न माग गर्दछौँ ।’
झन् ठुलो चिन्ताको विषय

स्वतन्त्र समूह इटहरीले साहित्यिक समूहले भन्दा कडा शब्दहरू प्रयोग गरी काव्य वाटिकाको समस्याबारे नगरप्रमुख चौधरीको ध्यानाकर्षण गराएको छ ।
यस क्षेत्रको भिन्न परिचयसहित स्थापित काव्य वाटिकामा वडा कार्यालय बनाउने विषयप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै स्वतन्त्र समूहले ‘त्यहाँ भएका वृक्षहरू ध्वस्त पारेको विषयमा पनि चिन्ता लागेको’ जनाएको छ ।
‘कवि, लेखक, कलाकारको पहिचान बोक्ने काव्य वाटिका जसले जसरी सुरु गरे पनि यो एउटा भिन्न पहिचान र पर्यटकीय आकर्षणको गन्तव्यस्थल थियो,’ स्वतन्त्र समूहले भनेको छ, ‘संरक्षण, संवर्धन गर्ने कुरामा बेवास्ता गर्दै यसलाई नामेटपार्ने कुरा झन् ठुलो चिन्ताको विषय हो ।’
इटहरी उपमहानगरपालिकाले स्रष्टाहरूप्रति हालसम्म देखाएको व्यवहार अनुपयुक्त रहेको उल्लेख गर्दै स्वतन्त्र समूहले ‘कवि, लेखक, कलाकार र स्रष्टा–समाजप्रति यहाँका जनप्रतिनिधिहरूमा सकारात्मक सोच नभएको भन्ने कुरा विगतदेखि देखिँदै आएको’ आरोप पनि लगाएको छ ।
अति गर्दा खति हुने प्रचलित मान्यता दृष्टान्त दिँदै समूहले ‘त्यही स्थानमा काव्य वाटिका स्थापित गरी थप पर्यटन प्रवर्धनको दिशामा ध्यान दिन’ नगरप्रमुखसँग अनुरोध गरेको छ ।

ज्ञापन–पत्र बुझाउन जाने टोलीमा साहित्यिक समूहका अध्यक्ष पोखरेल, सचिव जगदीश सापकोटा, समूहका सल्लाहकार तथा काव्य वाटिकाका पूर्व–अध्यक्ष कृष्णविनोद लम्साल, स्वतन्त्र समूहका संयोजक कटुवालसहित कृष्ण नेपाल, कृष्णप्रसाद शर्मा, यज्ञप्रसाद घिमिरे, राजेन्द्र घिमिरेको उपस्थिति रहेको थियो ।
ज्ञापन–पत्र बुझ्दै नगरप्रमुख चौधरीले अन्त कतै उपयुक्त ठाउँ नभेटेर काव्य वाटिकामै वडा कार्यालय बनाउन लागेको पुरानो अडान दोहोर्याएका थिए । त्योसँगै उनले संक्षिप्त प्रतिक्रिया दिँदै ‘कवि–लेखकको गुनासोतर्फ अब काव्य वाटिकातर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको’ पनि जनाएका छन् ।
ज्ञापन–पत्र बुझाउने क्रममा इटहरी साहित्यिक समूहका अध्यक्ष पोखरेलले प्रमुख प्रशासकीय अधिकृत सापकोटालाई ‘काव्य वाटिकाको जमिनमा वडा कार्यालय बनाउने, रुख काट्ने विषयमा तपाईसँग सल्लाह–परामर्श गरिएको थियो कि थिएन ? भनी सोधेका थिए । जबाफमा अधिकृत सापकोटाले ‘मलाई जानकारी थिएन, मेयर साहबसँग सल्लाह भएको भए बेग्लै कुरा हो’ भनेका थिए ।
उक्त संवाद उल्लेख गर्दै इसास अध्यक्ष पोखरेलले भने ‘काव्य वाटिकाको हैसियत बिगार्नमा ककसको के भूमिका छ, हामी त्यसको पनि खोजी गर्दै छौँ ।’

कोसी अनलाइन




















