२० जेठ, काठमाडौं । मेलम्चीको पानी अब दुई महिना नआउने भएको छ। आगामी असार १ गतेदेखि करिब दुई महिनासम्म काठमाडौं उपत्यकामा पानी वितरण रोक्न लागिएको हो।
सुरुङमार्गको परीक्षण गर्न पानी बन्द गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल का प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिनु भयो।
उहाँका अनुसार सुरुङमार्ग परीक्षणका लागि खाली गर्न मात्र १५ दिन लाग्ने छ। त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यहाँको अवस्था अध्ययन गर्नेछन्। उहाँले सुरुङ परीक्षणका क्रममा केही समस्या देखिएमा तत्कालै त्यसको समाधान गर्ने पनि जानकारी दिनु भयो। ‘सुरुङ परीक्षण गर्न समय लाग्छ, लगभग दुई महिना पानी नआउन सक्छ’ राईले भन्नु भयो।
चैत १५ देखि उपत्यकामा पानी वितरण थालिए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २० गते पानी वितरणको औपचारिक उद्घाटन गर्नु भएको थियो। त्यस पश्चात मेलम्चीबाट दैनिक १७ करोड लिटर ल्याएर उपत्यकाका विभिन्न ठाउँमा वितरण भइरहेको थियो।
























