काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले व्यक्तिगत इगो छाडेर पार्टी एकताको पक्षमा लाग्न आह्वान गर्नुभएको छ।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नयाँदिल्ली जानुअघि एक वक्तव्य जारी गर्दै उहाँले भन्नु भएको छ,’राजनैतिक दलहरु विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्। ‘अन्तरसंघर्षको पराकम्पन हाम्रो तत्कालीन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ। राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो।’
वक्तव्यमा भनिएको छ, ‘त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वाकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ। हामी सबै एकजुट भएर मुलुकका मूलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु।’
सयौँ सहिदहरुको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कयौँको प्रवास, जेल, भूमिगत जीवनको संघर्ष, त्याग र तपस्याको कारणले पार्टी यहाँसम्म आएको उनले उल्लेख गर्नुभएको छ।
पार्टी देशको नेतृत्वदायी पार्टी बनोस्, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको उहाँले बताउनु भएको छ।
‘जनताको चाहना र अपेक्षा विपरित अनेकौं गलत प्रवृत्तिहरू, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ’ वक्तव्यमा भनिएको छ, ‘देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ। विगतमा हामी सबै मिलेर ठुल्ठूला सफलता प्राप्त गरेको स्मरण गरौं। एकता सफलताको बाटो हो भने फुट विनाशको।’
अहंकार र बदला भाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई आह्वान समेत गर्नुभएको छ।
‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं। त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु’ नेता खनालद्वारा जारी वक्तव्यमा भनिएको छ।
उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा आफू देशबाहिर जान लागेको भन्दै वक्तव्यमा उनले लेखेका छन्, ‘सफल उपचारपछि स्वदेश फर्केर यहाँहरूमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु।’






















