मर्स्याङ्दी केहीबेर थुनिएर बग्न थाल्यो, तल्लो तटीय क्षेत्रमा जोखिम

A notice in Nepali from Mechinagar Ward No. 10

५ असार, मनाङ्ग: हिमालपारी मनाङको हुम्डेमा केहीबेर मर्स्याङ्दी नदी थुनिएर अहिले खोलिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भएको छ ।

नेस्याङ गाउँपालिका-४ हुम्डेमा नदी वरिपरिबाट गएको पहिरोले शनिबार केहीबेर नदी थुनिएको सिडिओ लामिछानेले बताउनु भयो।

‘पहिरोले एकछिन मर्स्याङ्दी थुनियो, अहिले बगिरहेको छ,’ लामिछानेले भने, ‘पानीको सतह बढेको छ।’

विगत एक सातायता अत्यधिक वर्षाका कारण मर्स्याङ्दी नदीमा उर्लिएको बाढी शनिबार झनै बढेको लामिछानेले बताउनु भयो। हुम्डेमा थुनिएको मर्स्याङ्दी बग्न थालेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढ्ने भन्दै सबैतिर सूचना दिइएको उहाँले बताउनु भयो। उहाँले भन्नु भयो, ‘तल्लो तटीय क्षेत्रमा मर्स्याङ्दी वरिपरि नबस्नु भनेर सूचना दिएका छौं।’

नदीमा उर्लिएको बाढीका कारण चामेबाट हुम्डे जाने ट्रसको पुल नाघेर पानी बगिरहेको छ। नदीमा डुङ्गा, बालुवा, माटो लगायत मिसिएर लेदो बगेको छ भने नदीले बगाएर ल्याएको रुख लगायत पुलमा अड्किएको सिडिओ लामिछानेले बताउनु भयो। नदीमा पानीको सतह बढ्दै गए पुलमा थुप्रिएका रुखसहित डुङ्गा माटोले फेरि मर्स्याङ्दी थुनिन सक्ने खतरा भएको उहाँले बताउनु भयो। बाढीले पुल भत्काउन सक्ने अवस्था समेत रहेको उहाँको भनाइ छ।

सदरमुकाम चामेमा केही दिनअघि नै थुनिएको मर्स्याङ्दी अहिलेसम्म पनि पूर्ण रुपमा खुल्न नसकेको सिडिओ लामिछानेले बताउनु भयो। ‘चामेमा च्याट्टे खोलामा बाढीसँगै आएको ठूला ढुङ्गाहरुले छेकिएर ताल बनेको छ, नदी एउटा किनारबाट बगे पनि पूर्ण रुपमा खुलेको छैन,’ उहाँले भन्नु भयो। चामेमा च्याट्टेखोला र घट्टेखोलामा आएको बाढीले यसअघि नै १० घर भत्काइसकेको छ भने झण्डै तीन सय जना विस्थापित भएका छन्।

यस्तै, मनाङ प्रवेशद्वार ताल गाउँमा ३० घर, धारापानीमा ७ घर, पिसाङमा २ घर लगायत जिल्लाभर हालसम्म ५५ घर बाढीले भत्काएको सिडिओ लामिछानेले जानकारी दिनु भयो। अहिलेसम्म मनाङमा ८ वटा झोलुङ्गे पुल, एउटा मोटरेवल पुल, ३ वटा काठको मोटरेवल पुल बाढीले बगाइदिएको छ।

यस्तै, चामे र तिमाङमा सञ्चालित लघुजलविदुत आयोजना, राष्ट्रिय प्रसारण लाइनको बिजुलीका पोललगायत सरकारी र निजी सम्पत्ति बाढीले बगाएको छ। बाढी र पहिरोका कारण मनाङमा एउटा गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन्।

साभार : सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.