अमेरिकी समाजमा समयको पालनालाई बढी नै महत्व दिइन्छ । अमेरिकी नागरिक समयको पालनामा वर्तमानमा मात्र होइन विगतमा पनि उत्तिकै प्रतिबद्ध थिए । समयको परिपालनामा अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटन पनि निकै अगाडि थिए । उनलाई समयको महत्व बुझ्ने नेताका रुपमा विश्वभर उदाहरणका रुपमा लिइन्छ । उनलाई समय अमूल्य छ भन्ने थाहा थियो । त्यसैले उनी सदैव आफ्नो एक एक समय सदुपयोग गर्थे । समयको एउटा सानो अंश पनि खेर जान दिदैनथे । उनले समय खेर फालेको वा समयको सही उपयोग नगरेको कुनै उदाहरण पाइदैन । उनी जे गर्थे समयमै गर्थे । तोकिएको समयको एक एक पल खेर जान नदिने उनको नियम नै थियो ।
एकपटक उनले आफ्ना केही साथीलाई दिवा खाना खाने गरी आफ्नो घरमा निमन्त्रणा गरे । पाहुनाका लागि खाना खाने समय दिनको एक बजेलाई तोकिएको थियो । संयोगवश पाहुनाहरु त्यो समयमा आइपुग्न सकेनन् । तोकिएको समयसम्म त उनले धैर्यपूर्वक पाहुनाको प्रतीक्षा गरे । तर, जब तोकिएको समय गुज्रियो तब उनले पाहुनालाई नकुरी खाना खान सुरु गरे । उनले खाना खान थालेको केही मिनेटपछि नै आमन्त्रित पाहुना आइपुगे । यो देख्दा त्यहाँ खाना खान बोलाइएका पाहुनालाई नराम्रो लाग्यो । उनीहरुले केही नभने पनि वासिंटनले उनीहरुको मनको भाव बुझे । त्यसैले उनले भने ‘मलाई क्षमा गर्नुहोस्, मित्रहरु खाना टेवलमा लगाउनु अगाडि मेरो भान्सेले खाने मान्छे आइपुगे कि पुगेनन् भनेर कहिल्यै सोध्दैन । उसले केवल यो सोध्छ कि समय भयो या भएन ? त्यसैले मैले आज पनि उसलाई ढाँट्न र रोक्न सकिन ।’ वासिंटनको यस्तो भनाइ सुनेर आमन्त्रित पाहुना लज्जित भए र आफूहरु ढिलो भएकामा क्षमा मागे ।


























