एकपटक एक विद्वान एथेन्सका महान दार्शनिक अरस्तुसित भेटघाट गर्न गए । भेटघाटका क्रममा उनले अरस्तुलाई भने, ‘हजुरजस्ता महान दार्शनिकसित भेटघाट गर्न पाउँदा म निकै खुसी छु । मेरो यो अहोभाग्य पनि हो । त्यसैले म हजुरका परमपुज्य गुरुसित भेटघाट गर्न चाहन्छु । यथार्थमा हजुरका गुरु को हुनुहुन्छ ?’ विद्वानको विचार बुझेपछि अरस्तुले भने ‘ कुरा निकै राम्रो हो । तर, तपाईंले मेरा गुरुसित भेटघाट गर्न सक्नुहुन्न ।’ विद्वानले प्रश्न गरे,‘के वहाँ संसारमा हुनुहुन्न ?’ अरस्तुले जवाफ दिए, ‘मेरा गुरु कहिल्यै मर्नुहुन्न ।’
विद्वानले अरस्तुको भनाइको रहस्य बुझ्न सकेनन् । प्रत्यक्षतः उनले भने, ‘मैले हजुरको भनाइको रहस्य बुझ्न सकिन । कृपया प्रष्ट पारिदिनु हुन्थ्यो कि ?’ मन्द मुस्कुराउँदै अरस्तुले भने, ‘यस संसारका सबै मूर्ख मेरा गुरु हुन् र यस संसारमा मूर्ख कहिल्यै मर्दैनन् ।’ अरस्तुका भनाइ सुन्दा विद्वान छक्क परे ।
उनले मनमनै सोचे, हैन अरस्तु पागल भए कि के हो ? यस्ता असाधारण दार्शनिकका गुरु कसरी मूर्ख हुन सक्छन् ? उनले साहस बटुलेर भने, ‘मानिसहरु ज्ञानको खोजीमा गुरुकुल देखि विद्वान गुरुहरुको शरणमा जान्छन् तर मूर्खको शरणमा पनि कोही जान्छन् भन्ने चाहिँ मैले आजसम्म सुनेको देखेको छैन ।’ विद्वानलाई सम्झाउँदै अरस्तुले भने , ‘यथार्थमा कुनै व्यक्ति उसका अवगुणका कारण मूर्ख मानिन्छ । त्यसैले कतै आफूभित्र पनि त्यस्ता कुनै अवगुण त छैनन् भनेर म जहिल्यै आत्मनिरीक्षण गरिरहन्छु । आफूभित्र त्यस्ता अवगुण पाएको खण्डमा तिनलाई निकालेर फ्याँकिहाल्छु । त्यसैले यस संसारमा मूर्ख हुँदैनथे भने आज म पनि केही हुने थिइँन । अब तपाईं नै भन्नुहोस् मेरा गुरु को रहेछन् मूर्ख या विद्वान् ?’


























