काठमाडौं : मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त एवं अधिकारकर्मी मोहना अन्सारीले ‘दुङाल’मा शरणार्थीहरूले कसरी जीवन सङ्घर्ष गरिरहेका छन् भन्ने यथार्थ चित्रण आएको बताइन् । उपन्यासले महिला र पुरुषलाई हेर्ने समाजको द्वैध दृष्टिकोणका साथै शरणार्थीका धेरै विषय समेटिएको उनको कथन थियो ।

वरिष्ठ सञ्चारकर्मी एवं समीक्षक राजकुमार बानियाँले ‘दुङाल’ले शरणार्थीको मुद्दालाई वैश्विक दृष्टिकोणबाट उठाएको बताए । उनले भने, ‘यो उपन्यासमा अवास्तविक वास्तविकता छ । यसले नेपाली शब्दभण्डारमा ‘दुङाल’ जस्तो नयाँ शब्द दिएको छ । यो करुणाको मसीले लेखिएको सुन्दर उपन्यास हो ।’

सञ्चारकर्मी प्रकाश थापाले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रममा उपप्राध्यापक टीएन भट्ट विश्वामित्रले किताब औपन्यासिकताको दृष्टिले सफल रहेको टिप्पणी गरे भने लेखक मालिका केशरीले आफूले बाल्यकालमा नजिकबाट देखेका पात्रहरुलाई आख्यानमा समेटेको बताए ।


























