एक राजाको सपनामा एक साधुले भने, ‘महाराज अमुक स्थानको रुखको टोड्कामा बस्ने एउटा सर्पले अघिल्लो जन्मको बदला लिन भोलि राति तपाईंलाई डस्नेछ । सावधान रहनुहोला ।’ बिहान बिउँझिएपछि राजा आफूलाई कसरी बचाउने भन्ने विषयमा सोचमग्न भए । सोच्दासोच्दै उनी मिठो व्यवहारबाट शत्रुको मन जित्ने सोचमा पुगे ।
रात पर्दानपर्दै राजाले सन्तले भनेको रुखदेखि आफ्नो विछ्याउनासम्मको मार्गलाई फूलैफूलले सजाउन लाए । सुगन्धित जल छर्केर वरिपरिको वातावरणलाई सुवासित गराए । ठाउँठाउँमा मिठो दुधका कचौरा राख्न लगाए । साथै, उनले आफ्ना सेवकलाई रातको समयमा सर्प रुखबाट निस्केर दरबारतिर आउँदा कहीँ पनि कुनै प्रकारको बाधा नपुर्याउन आदेश दिए ।
राति सर्प रुखको टोड्काबाट बाहिर निस्केर दरबारतिर लाग्यो । बाटामा आफ्नो स्वागतमा गरिएको व्यवस्थाबाट ऊ दंग पर्दै अघि बढ्यो । बाटामा बास्नादार फूलमा घस्रिदै मिठो दुधपान गर्दै अघि बढ्दै जाँदा उसको क्रोध क्रमशः कम हुँदै गयो ।
ऊ निकै प्रसन्न हुँदै अघि बढ्यो । दरबारमा पुग्दा पनि उसलाई कसैले रोकटोक गरेन । ढोकामा द्वारपाल भएपनि तिनले ससम्मान उसलाई भित्र प्रवेश गर्न दिए । कसैले पनि उसलाई अलिकति पनि हानि पुर्याएन ।
राजाको सद्व्यवहारले सर्पलाई मन्त्रमुग्ध बनायो । सर्पको मनमा राजाप्रति कायम शत्रुताको स्थानमा उनीप्रति असीम स्नेह पैदा भया े। उसमा अब राजालाई डसूँ कि नडसूँ भन्ने द्विविधा उत्पन्न भयो । राजा सुतिरहेको पलगंसम्म पुग्दा सर्पको मनोभाव पूरै परिवर्तन भइसकेको थियो । उसले राजालाई भन्यो,
महाराज म तिमीलाई डसेर पूर्वजन्मको बदला लिन आएको हुँ । तर तिमीले म माथि देखाएको स्नेहभावले गर्दा अब म तिम्रो शत्रु होइन, मित्र बनेको छु । म मित्रताको चिनोस्वरुप आफ्नो मणि तिमीलाई दिन चाहन्छु । यसलाई स्वीकार गर ।’ यति भनेर सो सर्प नागमणि राजालाई दिएर आफ्नो बासस्थानतिर फर्कियो ।

























