हुम्ला । देशभरी फेरि लोडसेडिङ हुने चर्चा चलिरहा हुम्लाको सदरमुकाम सिमीकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुन थालेको छ । यसबाट एसईई तयारी गरिरहेका विद्यार्थी समस्यामा परेका छन् ।
लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमीकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमीकोटवासीको दैनिकीमा समस्या भएको छ ।
कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमीकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् ।
हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमीकोटका लालबहादुर लम्सालले जानकारी दिनुभयो ।
यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ । दिनमा तीन पटक लोडसेडिङ हुन थालेपछि सिमीकोटमा दाउराको माग बढेको छ ।
एक भारी दाउराको सिमीकोटमा एक हजार रुपैयाँ तिर्नुपर्ने अवस्था छ । लोडसेडिङले सदरमुकाम सिमीकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ ।

























