२८ साउन, काठमाण्डौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा सुरु भएको छ।
आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला गरी सुरु भएको हो। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ता क्रियाशील सदस्यता सम्बन्धमा अनसन र धर्नामा बसेकाले बूढानीलकण्ठमा बैठक बस्नुपरेको सभापति निकट नेताहरुले बताएका छन्।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन्। यस्तै कांग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन्।
यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ। आगामी भदौमा महाधिवेशन गर्ने तय गरे पनि क्रियाशील सदस्यता विवाद लगायतका कारणले तोकिएको समयमा महाधिवेशन नहुने देखिएको छ।
शीर्ष नेताहरुले महाधिवेशन सार्ने सहमति गरिसकेका छन्। देउवा सभापति भएपछि केन्द्रीय कमिटी बैठक पहिलो पटक सानेपा भन्दा बाहिर बसेको हो। देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
देउवा निवास परिसरमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालित छन्। सभापति देउवाले कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गरेर मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।
पौडेल पक्षले भने संवैधानिक अवरोध हुनसक्ने भएकोले भदौ २३ भित्रै तल्लो तहको अधिवेशन शुरु गरेर असोजमै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएको छ। आजको बैठकमा क्रियाशील सदस्यतालाई अन्तिम रुप दिने, निर्वाचन निर्देशिका जारी गर्ने लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ।
यस्तै क्रियाशील सदस्यता विवाद तत्काल मिलाएर तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले सभापति देउवालाई नेपाली पार्टीको विधान र संविधानको प्रति बुझाएका छन्।
बिहीबार सभापति देउवाको निवासमा पुगेर नेताहरूले ज्ञापनपत्र सहित विधान र संविधानको प्रति बुझाएका हुन्। कांग्रेस नेता रञ्जीत कर्णसहितको टोली देउवालाई संविधान र विधान बुझाउन बूढानीलकण्ठ पुगेको थियो।
देउवाको निवासमा केन्द्रीय समिति बैठक बस्नुअघि कार्यकर्ताले प्रदर्शनसमेत गरेका थिए। प्रदर्शनमा सहभागीले ‘समायोजनमा भएको धाँधली खारेज गर, क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, हामीलाई केही चाहिँदैन, महाधिवेशन सार्न पाइँदैन, फर्जी क्रियाशील खारेज गर आदि नारा लेखिएका प्लेकार्ड बोकेका छन्। प्लेकार्डसहित उपस्थित भएका कार्यकर्ता पौडेल पक्षका हुन्।
थाहाखबरबाट
























