काठमाडौँ, भदौ २९: सरकारले घोषणा गरेको मितिमा प्रतिनिधिसभाको चुनाव गराउन निर्वाचन आयोगले तयारी सुरु गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराएमा आयोग निर्धारित समयमै निर्वाचन गराउन पूर्ण रूपमा तयार रहेको बताएका छन्।
भण्डारीले सामान्यतया निर्वाचनको तयारीका लागि १२० दिन आवश्यक पर्ने भए पनि ६ महिनाको पर्याप्त समय रहेकाले कुनै समस्या नहुने बताए। उनले निर्वाचन प्रक्रियाअन्तर्गत व्यवस्थापन र मतदाता नामावली संकलनको काम अहिले नै भइरहेको जानकारी दिएका छन्।
निर्वाचन घोषणाको औपचारिक पत्र प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट प्राप्त भएपछि गृह मन्त्रालयको समन्वयमा बाँकी प्रक्रिया अगाडि बढ्ने भण्डारीले बताए। “सरकारले स्रोतसाधन जुटाउनेबित्तिकै आयोगलाई अफ्ठ्यारो छैन, हामी आजैदेखि तयारीमा लाग्छौँ,” उनले भने।
यसका साथै, आगामी फागुन महिनामा एकतिहाइ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिने भएकाले त्यसको निर्वाचन पनि माघ दोस्रो सातासम्ममा गरिसक्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए। प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सँगसँगै अगाडि बढाइने आयोगको योजना छ।
























