काठमाडौँ । सरकारले कोभिड-१९ खोप खरिद गर्न रकम आवश्यक परेको भन्दै आर्थिक सहयोगको लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गोरखापत्रमा सूचना निकालेर खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई नि:शुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको बताएको छ।
‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ,’ सूचनामा भनिएको छ।
कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने मन्त्रालयले जनाएको छ।
पैसा कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने मन्त्रालयको भनाइ छ।





















