काँकरभिट्टा, २५ माघ । राष्ट्रिय परिचयपत्र सबै तह तप्काका नागरिकहरूको लागि उत्तिकै महत्वपूर्ण रहेको छ । सरकारले दैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक काम काजका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न लागेकाले सबै नागरिकहरूका लागि आवश्यक रहेकोले नेपाली नागरिकता प्राप्त गरेका सबैलाई राष्ट्रिय परिचय पत्रका लागि नाम दर्ता गराउने काम झापामा धमाधम भइरहेको छ ।
यसैक्रममा झापाको मेचीनगरमा यतिखेर राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान शुरु भएको छ । अभियान शुरु भएसँगै नगरवासीले आ—आफ्ना वडा कार्यालय र दर्ता गर्ने ठाउँमा गएर स्वतःस्फूर्तरुपमा गएर विवरण दर्ता गर्न थालेका छन् । स्टेशनमा अभिलेख दर्ताका लागि १ सय ३ वर्षसम्मका नेपाली नागरिकहरु पुगेर दर्ता गराईरहेका छन् ।

सरकारले राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न लागेकाले सबै नागरिकहरूका लागि आवश्यक रहेकोले नेपाली नागरिकता प्राप्त गरेका सबैलाई राष्ट्रिय परिचय पत्रका लागि नाम दर्ता गराउन सरकारले सुझाव दिए सागै अहिले मेचीनगर वासीहरु स्वतस्फूतरुपमा आ आफ्नो वडामा रहेका स्टेसन गएर राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता गराउन थालेका छन् । मेचीनगर नगरपालिकाभित्रका १५ वटा वडाहरुमा दर्ताका लागि ६२ वटा स्टेशन तयार गरिएको छ ।
वडानम्बर १ देखि ५ सम्ममा ३/३ वडानम्बर ६ मा ८, ७ मा ६, ८ मा ५ वडानम्बर ९ र १० मा ६/६ वडानम्बर ११ देखि १४ सम्ममा ३/३ र वडानम्बर १५ मा ४ वटा स्टेशन खडा गरी राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता गराउन काम धमाधम भइरहेको छ । वडा कार्यालय, सामुदायिक भवन, विद्यालय परिसरमा स्टेशन खडा गरिएको छ ।
दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकको सबै विवरणका साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औँठाछाप,डिजिटल फोटो, शैक्षिक योग्यता, पेसा अस्थायी र स्थायी ठेगाना, विवाहित, अविवाहित लगायतका विवरणहरू रहने छन् । राष्ट्रिय परिचयपत्र पाउनका लागि १६ वर्ष उमेर पुरा भएको नेपाली नागरिकताको प्रमाणपत्र लिएको हुनुपर्ने र परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको निकाय वा अधिकारी समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ । निवेदन दिँदा परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले वा विभागले तोकेको निकाय वा अधिकारीलाई डिजिटल तस्विर, दुवै हातका १० औलाको रेखा सहितको डिजिटल ल्याप्चे छाप, हस्ताक्षर लगायतका व्यैक्तिक तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ ।
राष्ट्रिय परिचय पत्रको लागि नाम दर्ता गराउन व्यक्ति स्वयं उपस्थित हुनुका साथै नेपाली नागरिकताको प्रमाणपत्र सक्कल, बाबु आमाको नागरिकताको प्रतिलिपी उपलब्ध भएसम्म,नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण पत्र वा गाउँपालिका नगरपालिकाको सिफारीस,राहदानी लिइएको भए सो को सक्कल वा प्रतिलिपी,बसाईँ सराईँ गरेकाहरुको हकमा बसाइसराइ प्रमाणपत्र र विवाहितको हकमा नागरिकतामा पति पत्नीको नाम उल्लेख भएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता गराउन आउँदा आवश्यक कागजातहरु हुन् ।
आम नागरिकमा नागरिकता भइसकेपछि अरू किन चाहियो भन्ने बुझाई छ । तर, नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र नै राष्ट्रिय परिचय पत्र भएकाले यस अभियानमा केहि पनि छुट्न नहुने सरकारी अधिकारीहरुको भनाई राष्ट्रिय परिचय पत्रले देशलाई समृद्घ, आम नागरिकलाई अनुशासीत र देशमा सुशासन कायम हुने विश्वास लिइएको छ ।
राष्ट्रिय परिचयपत्रलाई नागरिकहरूले व्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा ,मतदाता परिचयपत्रको रूपमा, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा र अन्य सार्वजनिक सेवा सँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायहरुले झन्झट रहित हुने भएकाले राष्ट्रिय परिचय पत्र फाइदा पुग्ने वा प्रयोजनका लागि उपयोग गर्न सक्नेछन्
सम्बन्धित पालिकाबाट भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछ । केन्द्रीय विभागबाट राष्ट्रिय परिचयपत्र जिल्लामा आइपुग्न करिब छ देखि आठ महिना लाग्छ । सरकारले विसं २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचय पत्रको काम सुरू भएको हो । यसवर्ष थप सरकारले थप १५ जिल्लामा राष्ट्रिय परिचय पत्र लागू गर्ने भएको छ । प्रदेश नं १ झापा र संखुवासभा, प्रदेश नं २ को महोत्तरी र सप्तरी, प्रदेश नं ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को गुल्मी र कपिलवस्तु, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा प्रदेश नं ७ को अछाम र कञ्चनपुरमा लागू हुने छ ।
मेचीनगरमा अभियान शुरुहुनुअघि राष्ट्रिय परिचय पत्र विवरण दर्ता अभियानको बारेमा छलफल भएको थियो । नगरवासीको सुविधाका लागि अहिले नगरका १५ वटा वडामा ६२ वटा स्टेशनको व्यवस्था मिलाइएको छ । राष्ट्रिय परिचय पत्र प्राप्त गरेपछि अन्य कुनै पनि कागजातको आवश्यक नपर्ने भएकाले पनि अहिले आवश्यक पर्ने विवरण दर्ता अभियानमा नगरवासीको उपस्थिती स्वतःस्फूत देखिएको हो । अझ धेरैले यसलाई चिनाको रुपमा समेत लिने गरेका छन् । यो कार्य यस अघिनै सम्पन्न गर्ने भनिए पनि नोवल कोरोना भाइरस कोभिड १९ का कारण समयमै सम्पन्न गर्न सकिएको थिएन।
























