५ असार, काठमाडौँ : नेपाल स्काउटको ७३ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित भव्यरुपमा सम्पन्न भएको छ । आज राष्ट्रिय प्रधान कार्यालयमा अयोजित मूल समारोहमा स्काउटमा लागेर लामो समय सम्म सेवा गरेका स्काउट कर्मीहरुलाई नेपाल स्काउटका प्रमुख स्काउट एवम् खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदक तथा कदरपत्रबाट सम्मान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य एवम् झाँकी र स्काउट कवाज प्रदर्शन गरिएको थियो ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्ने बताउनु भएको छ । ७३औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै परिवर्तनलाई आत्मसाथ गर्दै स्काउटको मूल्य मान्यता यथावत् राख्नुपर्ने बताउनु भयो ।
समाजमा निस्वार्थ भावना राखेर सहयोग पु¥याउँदै आएको स्काउटको महत्व अपरिर्हाय रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले समयको माग अनुसार स्काउटले अब गर्नुपर्ने महत्वपूर्ण विषय भनेका ‘प्रकृतिसँग नजिक’ र ‘प्रकृतिको संरक्षण’ जस्ता मुद्दा पनि रहेको बताउनु भयो ।
स्काउटका माध्यमबाट समाजका विसङ्गती हटाउन, विपत् व्यवस्थापन गर्न र सभ्य समाज निमार्ण गर्न जनशक्ति उत्पादनमा सहयोग पुगेको उनले उल्लेख गरे । मन्त्री श्रेष्ठले छिट्टै नै राष्ट्रिय परिषद्को बैठक बसेर स्काउटमा युवा परिचालन सशक्त बनाउने योजना रहेको बताउनु भयो ।
नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले सरकारले अनुदानमा दिएको चार करोड रकम मध्ये चालु आर्थिक वर्षमा ८० प्रतिशत जति खर्च भएको जानकारी दिनुभयो । सो अवसरमा उनले सातवटै प्रदेशका स्काउटका गतिविधिको प्रतिवेदन मन्त्री श्रेष्ठसमक्ष बुझाइएको थियो ।
नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जीतले युवा तथा बालबालिकालाई अनुसाशित बनाउन, समाज सभ्य बनाउन, युवा नेतृत्वको विकास गर्न, अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि निर्माण गर्नलगायत कार्यमा स्काउटले भूमिका खेल्दै आएको बताउनु भयो ।
नेपाल स्काउटद्वारा विभिन्न पदकबाट ६६ जनालाई सम्मान
नेपाल स्काउटले स्काउटिङ्गको क्षेत्रमा योगदान पु¥याएका ६६ जनालाई एकसाथ विभिन्न पदकबाट सम्मानित गरेको छ । । स्काउटको ७३औँ स्थापना दिवसको सन्र्दभमा ‘सुनौलो गैँडा’ पदकबाट आठ जना, ‘रुपौला कटुस’बाट सात, ‘प्रशंसनीय आचरण’ पदकबाट १६ जना, ‘दीर्घ सेवा’ पदकबाट ४२ तथा ‘एपिआर फोटो अवार्ड’बाट एक जना सम्मानित हुनुभएको छ । लाजिम्पाटस्थित नेपाल स्काउटको कार्यालयमा गरिएको उक्त कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतले वहाँहरुलाई प्रमाणपत्रसहित पदक हस्तान्तरण गर्नुभयो ।
नेपाल स्काउटको सर्वोच्च पदक सुनौलो गैडाबाट सम्मानित हुनेहरुमा भुवन सुब्बा, भक्त राजभण्डारी, अनिता मानन्धर, रुक्मिणी श्रेष्ठ, देवराज घिमिरे, शिवराज अर्याल, शिवबहादुर भण्डारी, शारदा पराजुली र कमलबहादुर देउजा हुनुहुन्छ ।
त्यसैगरी ‘रुपौला कटुस’ पदकबाट सम्मानित हुनेहरुमा शकुन्तला सुब्बा, निर्मला अधिकारी, उमा सुवेदी, बेली थापा, जहरसिंह थापा, काशीराम जैसी र चन्द्रकला पन्त रहनुभएको छ ।
यसैगरी प्रशंसनीय आचरण पदकबाट सम्मानित हुनेहरुमा रवि खनाल, नवलप्रसाद उपाध्याय, गङ्गाप्रसाद मैनाली, नारायण कार्की, भुवनचरण श्रेष्ठ, सङ्गीता मिश्र, बिमला श्रेष्ठ, सुरज खनाल, सुचिता सैँजू, लीला श्रेष्ठ, शिवकुमार त्वायना, मैया त्वानावासु, प्रेरणा शाक्य, केशरत्न बज्राचार्य, सागर पौडेल र दिनानाथ भट्टराई रहनुभएको छ । सोही कार्यक्रमको अवसरमा विभिन्न जिल्लाका ४२ जनालाई दीर्घसेवा सम्मान बाट विभूषित समेत गरिएको थियो भने योगेन्द्र भुजेललाई एपिआरको फोटो अवार्डबाट सम्मान गरिएको थियो ।
प्रशिक्षकहरुको द्धिक्षान्त सम्पन्न
स्काउट दिवसकै अवसरमा साँझ मल्ल होटलमा आयोजित विशेष कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रमुख आयुक्त महेन्द्रराज रन्जितले राष्ट्रिय र सहायक राष्ट्रिय प्रशिक्षक परीक्षा उत्तीर्णहुने स्काउटरहरुको दिक्षान्त गराउनु भएको थियो भने राष्ट्रिय प्रशिक्षक व्याच एवम् स्कार्फ प्रदान गरिएको थियो ।


























