भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावपछि नेपालको पूर्वी सीमामा सुरक्षा सतर्कता कडा पारिएको छ, विशेष गरी झापा र आसपासका नाकामा सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको छ। भारतले पाकिस्तानमाथि मिसाइल र ड्रोन आक्रमण गरेपछि नेपाल सरकारको गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेर भारतसँग सीमा जोडिएका नाकामा सुरक्षा कडाइ गर्ने निर्णय गरेको हो। गृहमन्त्री रामेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकले सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बललाई कुनै पनि घुसपैठ, अवाञ्छित गतिविधि वा आपराधिक क्रियाकलाप हुन नदिन निगरानी र चेकजाँच थप कडा पार्न निर्देशन दिएको छ।
झापा जिल्लाको काँकडभिट्टा, भद्रपुर, बाँहुण्डागी, गौरीगञ्जलगायतका मुख्य सीमावर्ती नाकामा सशस्त्र प्रहरी बलले आवतजावत गर्ने सबैको कागजात जाँच गर्ने व्यवस्था कडा बनाएको छ। करिब १४२ किलोमिटर लामो सीमावर्ती क्षेत्रमा गस्ती र निगरानी समेत तीव्र पारिएको छ। भारत र पाकिस्तानबीचको सैन्य कारबाहीका कारण भारतमा कार्यरत नेपालीहरू पनि स्वदेश फर्कन थालेका छन्। उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै नाकामा स्वदेश फर्कनेहरूको व्यवस्थित अभिलेख र सहजीकरणको काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
यसबीच, भारत–पाकिस्तान तनाव र नेपालभित्रको सुरक्षा संवेदनशीलता एकैसाथ देखिएको सन्दर्भमा सीमामा सुरक्षाको संवेदनशीलता मात्र नभएर रणनीतिक संयमता पनि आवश्यक भइसकेको देखिन्छ। भारतको कारबाहीपछि पाकिस्तानले जवाफी चेतावनी दिएपछि दक्षिण एशियाली भू–राजनीतिक परिस्थिति थप जटिल हुन सक्ने आँकलन पनि गरिएको छ। त्यसैले नेपालले आफ्ना सीमावर्ती क्षेत्रहरूमा चनाखो सुरक्षा रणनीति अपनाउनु अपरिहार्य बनेको छ।

























