३ पुस, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको विषय भने खुलाइएको छ ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्न लागेका हुन् ।
सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । तर नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।
त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल एमसीसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन् ।
एमाले बैठकमा नजाने
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ ।
एमालेले कारवाही गरेका व्यक्ति समेटेर अवैध रुपमा दर्ता भएको दल नेकपा एस सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले बताए ।
नेम्वाङले भने – प्रधानमन्त्रीज्यूसँग छलफल गर्न हामी तयार छौं । कांग्रेसको महाधिवेशनमा हाम्रो अध्यक्षले सम्बोधन गर्नुभयो । तर एमालेले मान्यता नदिएको र अदालतमा मुद्दा विचाराधीन रहेको समूहलाई बैधानिकता दिनेगरि हामी कुनै बैठकमा सहभागी हुँदैनौं ।
यसअघि पनि नेकपा एसको सहभागितालार्य लिएर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।


























