४ आसर, मेचीनगर : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्तगर्नुभएको छ।
शुक्रबार प्रदेशसभा बैठकमा पोखरेलले विश्वासको मत दिइयोस् भनी राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत खसेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे। प्रदेशसभामा रहेका कूल ५९ प्रदेशसभा सदस्यमध्ये सभामुखबाहेक ५८ जना मतदानमा सहभागी थिए।
नेकपा एमालेबाहेक सबै दलले प्रस्तावको पक्षमा मतदान गरेका थिए। नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेलले नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र गरी ३१ सांसदकै समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो।
सोही आधारमा पोखरेललाई प्रदेश प्रमुख सिताकुमारी पाैडेलले संविधानको धारा १६८ (५) बमोजिम जेठ २९ गते मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । पोखरेलले ४ जनालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त संयुक्त सरकारको मुख्यमन्त्री, उपधारा (३) अनुसार नियुक्त अल्पमतको मुख्यमन्त्री र उपधारा (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार पेश गरी नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
























