२ वैशाख, काठमाडौँ : एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ। पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडीमध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा र देवेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन्।
अभ्यास थालनी भए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले भने जुन लक्ष्यका साथ तयारी गरिएको हो, त्यो नेपाली टोलीका लागि कठिन भएको बताएका छन्। पहिलो दिनको अभ्यासपछि पत्रकार सम्मेलनमा उत्रिएका मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टोली जुन लक्ष्यका साथ तयारी गरिरहेको छ, सो लक्ष्यमा पुग्न निकै कठिन हुने बताएका हुन्।
उनले सपना ठूलो देखे पनि वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल रहेको भन्दै यही प्रयासले छनोट हुन नसक्ने बताए। तर छनोटमा राम्रो गर्न प्रयास गर्ने उनको भनाई छ।
नेपाली फुटबल टोली आफूले सम्हाल्दा र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउँदै मुख्य प्रशिक्षक अल्मुताइरीले दुई महिनापछि कुवेतमा हुने एएफसी एसियन कप छनोटका लागि योग्य नभएको बताएका हुन्।
नेपाली टोलीसँग प्रतिस्पर्धा गर्न लागेको टोलीमा धेरै व्यवसायिक खेलाडी भएको र उनीहरु युरोपबाट खेल्ने गरेको भन्दै नेपाली टोलीमा अनुभवी र व्यवसायिक खेलाडी नभएको उनले बताए।
जुन कारण एसियन कपमा नेपाली टोली छनोट हुन नसक्ने बताएका हुन्। प्रतिष्ठित प्रतियोगिता खेल्नका लागि टोलीमा धेरै सुधार देखि फुटबलको जग बलियो हुनु पर्ने औल्याउँदै मुख्य प्रशिक्षक अल्मुताइरीले ग्रासरुटदेखि उमेर समूहका खेल राम्रो नभएसम्म नेपाली फुटबल अगाडि बढ्न नसक्ने बताए।
एसियन कप छनोट आगामी जुन ८ देखि १४ सम्म कुवेतमा हुने छ। छनोट प्रतियोगिताका लागि समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जसअन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन्।
जसअन्तर्गत नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने दोस्रो खेल नेपालले जुन ११ मा कुवेतसँग खेल्नेछ। यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ। त्यसअघि नेपाली टोली वैदेशिक भ्रमण गर्दा केही मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ। यद्यपि कुन टोलीसँग हुने भने तय भइसकेको छैन।
























