१८ वैशाख, काठमाडौं ।विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा विराटनगर र बुटवल २–२ गोलको बराबरी खेल्दै समान १-१ अंक बाँडेका हुन् ।
खेलको ५ औं मिनेटमा बुटवलका ओमलजा करिमले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । विराटनगरका तर्फबाट पेड्रोमानजीले खेलको ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए।
मध्यान्तरपछिको ६७ औं मिनेटमा बुटवलका तर्फबाट लक्ष्मण रुचालले १ गोल गर्दै विराटनगर विरुद्द २ -१ गोलको अन्तर पारे तर खेलको अतिरिक्त समयमा सम्हालिन नसक्दा बुटवलको खुसी धेरै बेर टिक्न सकेन । खेलको ९१ औं मिनेटमा विराटनगरका सन्तोष तामाङले फ्रीकिक मार्फत गोल गर्दै खेल बराबरी गरे र टिमलाई हारबाट जोगाए ।
जारी लिगमा विराटनगर र बुटवल समान ४ खेल खेल्दा ५ अंक सहित बुटवल दोस्रो र ४ अंक सहित विराटनगर शीर्ष तेस्रो स्थानमा छ । भोलि आइतबारको खेल पोखरा थन्डर्स् र ललितपुर सिटीबीच अपरान्ह ५:३०बजे काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।


























