४ जेठ, काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वको महत्वकांक्षी योजना नेपाल ट्वान्टी–२० क्रिकेट लिग प्रतियोगिता असोज ८ गतेबाट हुने भएको छ । क्यानले यसअघि नै प्रतियोगिता हुने भने पनि बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रममाझ पहिलो संस्करणको ट्वान्टी–२० क्रिकेट लिग प्रतियोगिताको औपचारिक घोषणा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल खेल कात्तिक ५ गते हुने क्यानले जनाएको छ । प्रतियोगितामा ६ फ्रेन्चाइज डबल राउन्ड रोविन लिग पद्धतिमा खेलाइने छ ।
प्रतियोगितालाई यसअघि नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता दिइसकेको छ । घोषणापछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘‘दुई वर्षको प्रयासपछि हामीले आज घोषणा गरेका छौं । यस प्रतियोगिताले नेपालको क्रिकेट खेलको मात्र विकास नभई आर्थिक र पर्यटकीय हिसाबले पनि फड्को मार्ने विश्वास लिएका छौं ।’’
क्यानले प्रतियोगिता आयोजनाका लागि रणनीतिक र व्यावसायिक साझेदारका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्स कप्पनीलाई जिम्मा दिइसकेको छ । त्यसवापत सेभेन थ्री स्पोट्र्सले क्यानलाई ८ वर्षको लागि ३३ करोड रुपैयाँ प्रदान गर्नेछ ।
तथापि, क्यानले खुला प्रतिस्पर्धा नगराई भारतीय कम्पनीलाई प्रतियोगिताको जिम्मा लगाएकोमा क्यानभित्र नै असन्तुष्टि देखा परेको छ । उनीहरूले सेभेन थ्री स्पोट्र्स कम्पनीको आधिकारिकतामाथि प्रश्न उठाएका छन् ।
























