३० फागुन, काँकरभिट्टा : मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सोमबारबाट शुरु भएको छ । प्रतियोगिता सञ्चालन गर्न नगरभरिका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानध्यापक र खेलकुद शिक्षकहरुको संयुक्त बैठकले फागुन ३० देखि चैत २ गतेसम्म धुलावारी माध्यमिक विद्यालयको खेलमैदानमा गर्ने निर्णय गरेको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारासहित तीनदिनसम्म चल्ने प्रतियोगिताका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले पानसमा दीप प्रज्वलन गरी संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।
नगरभरी कुल १ सय ६ वटा विद्यालय भएपनि प्रतियोगितामा सामुदायिक र निजी गरी ५८ वटा विद्यालयले सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रतियोगितामा माध्यमिक तहका विद्यालयमात्र सहभागी हुन पाउने व्यवस्था छ । उद्घाटनका अवसरमा बोल्दैं नगरप्रमुख विमल आचार्यले झापा जिल्ला त्यसमा पनि मेचीनगर खेलकुदको उर्वर भूमि भएको बताउनुभयो ।
खेलकुदको क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने नगरप्रमुख आचार्यको भनाई थियो । खेलकुद र खेलाडीको संस्थागत विकासका लागि मेचीनगर नगरपालिका खेलकुद र खेलाडीसँगै रहेको उहाँको भनाई थियो । अब विद्यार्थीलाई शिक्षाले मात्र नपुग्ने भन्दैं शिक्षासँगै खेलकुदलाई पनि सँगसँगै लिएर जानुपर्नेमा उहाँको जोड थियो । मेचीनगरले विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माएको प्रष्ट पार्दै नगरप्रमुख आचार्यले एकजना खेलाडीले आफ्नो गाउँ, टोलमात्र नभएर विश्वमानै आफ्नो देशको नाम चिनाउन सफल हुने बताउनुभयो ।
नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले खेलकुदक्षेत्र स्वास्थ्यकालागि समेत फाइदाजनक रहेको भन्दैं कुनै न कुनै विधाका खेलाडीले खेलकुदकोमाध्यमाबट नेपाललाई विश्वसामू चिनाएको उदारहण प्रस्तुत गर्नुभयो । स्थानीय सरकार खेलकुदको विकासका लागि सधै सकरात्मक रहेको भन्दैं नगरपालिकाको नीति तथा कार्यक्रमलाई खेलकुदलाई उच्च प्राथमिकतामा राखेको नगर उपप्रमुख उप्रेतीको भनाई छ ।
नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले खेलकुदले मानिसलाई स्वास्थ र स्फूति बनाउने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीलाई पठन पाठनसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागिता जनाउन उहाँहरुले सुझाँव दिनुभयो । खेलकुदसहित विभिन्न प्रकारका प्रतियोगिताले विद्यार्थीभित्र रहेको प्रतिभालाई बाहिर ल्याउन वा उ भित्रको कला प्रष्फुटन गर्न मद्घत पुग्ने उहाँहरुको भनाई थियो । हरेक खेलाडीले अनुशासीतरुपमा आफ्नो खेल प्रदर्शन गर्न र उपाधि जित्ने गरी खेल्नुपर्ने उहाँहरुको भनाई छ ।
धुलावारी माध्यमिक विद्यालयको संयोजनमा भएको उदघाटन समारोहमा विभिन्न विद्यालयका स्काउट टोली, खेलाडी विद्यार्थीहरुले मार्चपास र साँस्कृति नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी प्रमुख अतिथि विशिष्ट अतिथि उप्रेतीलगायतले सलामी ग्रहण गरेका थिए ।
उद्घाटन समारोहमा धुलावारी खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष अजय घिमिरे, मेचीनगरका नगरशिक्षा अधिकारी होमनाथ भण्डारी, मेचीनगर— १० का वडा अध्यक्ष तथा नेपाली काँग्रेस मेचीनगर नगरसभापति सुवेशकुमार पनेरु लगायतले बोल्नुभएको थियो ।
छात्रा—छात्रतर्फको १००, २००, ४००, ८००, एकहजार मिटर दौड, कवर्दी, भलिवल, तेक्वान्दो खेल सञ्चालन हुने छ । प्रतियोगिता अन्तर्गत ट्रयाक तर्फ ८ वटा, फिल्ड तर्फ ७ वटा, कराते तर्फ ६ वटा र तेक्वान्दो तर्फ ६ वटा विधामा खेलहरु सञ्चालन हुने राष्ट्रिपति कप खेलकुद प्रतियोगिता मेचीनगरका संयोजक बिक्रम क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा कराते, हाइजम्प, लमजम्पलगायत खेल हुने छन् । आगामी चैत २ गते सम्म सञ्चालन हुने प्रतियोगितामा छनौट भएका विद्यालयले झापा जिल्ला स्तरीय प्रतियोगितामा मेचीनगरकोतर्फबाट सहभागिता जनाउने बताईएको छ ।
मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता मुल आयोजक समिति अध्यक्ष विक्रम भेटवालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहभागी सवैलाई धुलाबारी माविका प्रधानध्यापक महेन्द्र विलाश लुइटेलले स्वागत मन्तब्य र शिक्षक मिलन कुमार ढुंगानाले उद्घाटन सत्रको सञ्चालन गर्नुभएको थियो ।
























