१२ साउन, काठमाडौं : नेपाली पौडीबाज एलेक्स शाहले एक सय मिटर फ्री स्टाइलमा व्यक्तिगत प्रदर्शन करिब तीन सेकेन्डले सुधार गरेका छन्।
जापानको टोकियोमा जारी गृष्मकालीन ओलम्पिक खेलकुदको मंगलबार भएको हिट चरणमा शाहले ५३.४१ सेकेन्डको समय निकाले।
यसअघि उनले एक सय मिटर फ्रिस्टाइल ५६.२८ सेकेन्डको समय निकालेका थिए। उक्त प्रदर्शन उनले दक्षिण कोरियाको ग्वान्जाउमा भएको विश्व च्याम्पियनसिपमा गरेका थिए।
मंगलबार पहिलो हिटमा सहभागी ७ जनामध्ये एलेक्स पहिलो भए तर अगाडि बढ्न सकेनन्। उनि हिटमा प्रतिस्पर्धा गरेका ७० जना खेलाडीमध्ये पुछारबाट ११ जना खेलाडीभन्दा माथि रहे। एलेक्स रहेको हिटमा कोसोभो, प्यालेस्टाइन, गुयाना, भुटान, मालदिभ्स र सोलोमन आइसल्यान्डका खेलाडी थिए।
९ वटा हिटका शीर्ष १६ जना खेलाडी सेमिफाइनल पुगेका छन्। यो स्पर्धामा विश्व कीर्तिमानी समय ४६.९१ सेकेन्ड र ओलम्पिक कीर्तिमानी समय ४७.०५ सेकेन्ड रहेको छ। प्रतियोगिताअन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्दैछिन्।
हालसम्म तीन जना नेपाली खेलाडीको प्रतिस्पर्धा सम्पन्न भएको छ। गौरिकाबाहेक एथलेटिक्स खेलाडी सरस्वती चौधरीले जुलाई ३० तारिखमा प्रतिस्पर्धा गर्नेछिन्।
























