पपुवा न्युगिनीमाथि नेपालको सहज जित, आरिफ र कुशलको अर्धशतक

A notice in Nepali from Mechinagar Ward No. 10

८ चैत, काठमाडौँ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिजमा नेपालले सुखद् अन्त्य गरेको छ। अन्तिम खेलमा पपुवा न्युगिनीमाथि ७ विकेटको सहज जित निकाल्दै नेपालले सिरिजको सुखद् अन्त्य गरेको हो ।

एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको सिरिजमा नेपालले ४ मध्ये समान २ हार र जित निकाल्यो । युएईविरुद्धका दुवै खेल हारेको नेपालले पपुवा न्युगिनीलाई दुवै खेलमा हरायो।

कुशल र आरिफको अर्धशतक 

कुशल भुर्तेल र अरिफ सेखले अर्धशतकीय योगदान दिएपछि दुबई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै पपुवा न्युगिनीले दिएको १७४ रनको मध्यम लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।

तेस्रो नम्बरमा ब्याटिङका लागि आएका आरिफले सर्वाधिक ५९ रन बनाए । सम्हालिएर ब्याटिङ गरेका उनले १०२ बल खेल्दै ४ चौका प्रहार गरे। यस्तै, कुशल भुर्तेलले ६४ बल खेल्दै ४ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए।

यस्तै रोहितकुमार पौडेलले पनि नटआउट ४४ रन बनाए । उनले ४८ बलमा ५ चौका प्रहार गरे । रोहित र आरिफले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । यस्तै, आसिफ र कुशलले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए।

आसिफ र दीपेन्द्रको खराब लय

यता, आसिफ सेख र दीपेन्द्रसिंह ऐरी भने खराब ब्याटिङलाई मंगलबार पनि निरन्तरता दिए । आसिफ ८ बल खेलेर २ रनमा आउट भए भने दीपेन्द्रले खातै खोल्न सकेन् ।

दीपेन्द्र लागतार दोस्रो खेलमा शुन्य रनमा आउट भएका हुन् । सोमबार युएईविरुद्धको खेलमा दीपेन्द्र गोल्डेन डकआउट भएका थिए । आसिफ भने युएईविरुद्ध टिममा थिएनन्।

प्रतियोगिताका चारवटै खेल खेलका दीपेन्द्रले कुल १२ रन मात्र बनाउन सकेका छन् । पहिलो खेलमा पिएनजीविरुद्ध ८ रन बनाएका उनले युएईविरुद्ध ४ रन बनाएका थिए । यता, आसिफले ३ खेलमा २५ रन मात्र बनाए ।

खेलमा पपुवा न्युगिनीका चार्लस अमिनीले २ तथा काबुआ मोरेले १ विकेट लिए।

पपुवा न्युगिनीको मध्यम लक्ष्य

दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको पपुवा न्युगिनीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनायो। उसका लागि कप्तान असद भालाले सर्वाधिक ४५ रन बनाए । उनले ९६ बलमा ३ चौका प्रहार गरे । यस्तै, चाड सुपरले २२, लेगा सिकाले २०, सेसे बाउले १९, नोर्मन भानुअ १८ र कावुअ मोरले १७ रनको योगदान दिए।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीपले १० ओभरमा २९ रन खर्चिदा सोमपालले ३७ रन खर्चिए । यस्तै, करण केसी, आरिफ सेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले समान १ विकेट लिए।

डेब्यूमा भीम सार्कीले पाएनन् मौका

युवा ब्याट्सम्यान भीम सार्कीले पिएनजीविरुद्ध खेल मार्फत नै राष्ट्रिय टिममा डेब्यू गरे । तर, उनको डेब्यू नाम मात्रको भयो । घरेलु प्रतियोगिता उत्कृष्ट प्रदर्शन पछि राष्ट्रिय टिममा मौका पाएका उनले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ र बलिङको मौका नै पाएनन् । उनले पहिलो इनिङमा फिल्डिङको अवसर मात्र पाए। युएई भ्रमणमा रहेका खेलाडी मध्ये विवेक यादवले मात्र खेल्ने मौका पाएनन् ।

नेपाल पुछारबाट दोस्रो स्थानमै

विश्वकप लिग–२को तेस्रो सिरिज खेलिसक्दा नेपाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । तीन सिरिजका १२ खेल खेलिसक्दा नेपालले समान ६ जित र हार बेहोरेको छ। ७ टिम सहभागी प्रतियोगितामा नेपालले १२ अंकसहित छैठौं स्थानमा छ। यता, १६ खेलमा २ जित मात्र निकालेको पपुवा न्युगिनी पुछारमा छ।

तालिकामा ओमान शीर्ष स्थानमा छ। उसले २८ खेलमा १७ जित निकाल्दै ३६ अंक जोडेको छ। १८ खेलमा १० जितसहित २२ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने १२ खेलमा १६ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ । समान १४ अंक जोडेका नामिबिया र अमेरिका चौथो र पाँचौं स्थानमा छन्। नामिबियाले १४ र अमेरिकाले १६ खेल खेलेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.