फागुन २१ को निर्वाचनका विषयमा के भन्छन त, झापाली नेता ?

१५ कात्तिक मेचीनगर :  जेनेरेशन जेड’ जेन—जी नवपुस्ताको आन्दोलनपछि संसद विघटन भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको डेढ महिनाको समय गुज्रिसकेको छ । भदौ २३ र २४ मा ‘जेनेरेशन जेड’ जेन जी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टचारको अन्त्य र सुशासनको मागसहित गरेको आन्दोलन पश्चात छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रतिनिधिसभा विघटन भएको थियो ।
नेपालको संसदीय अभ्यासमा महिला मन्त्री भएको ६६ वर्षपछि कार्यकारी पद प्रधानमन्त्रीमा पहिलो महिला नियुक्ति भएको छ । नेपाली महिला आन्दोलनका सशक्त हस्तीलाई पछि पार्दै भदौ २३—२४ गतेको ‘जेनेरेशन जेड’ जेन—जी नवपुस्ता आन्दोलनको जगबाट ४२ औँ प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्की नेतृत्वको आन्तरिम सरकारको पहिलो र मुख्यः जिम्मेवारी नै आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन हो । तर, वर्तमान अन्तरिम सरकार गठन भएको डेढमहिनामा भई सक्दासम्म मन्त्रिपरिषद् पूर्ण गठन हुन सकेको छैन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेका छन् । कार्की नेतृत्वको सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश तोकिएको छ । ‘जेनेरेशन जेड’ जेन -जी नवपुस्ताको आन्दोलनपछि गठन भएको नयाँ सरकारले तोकेकै समयमा निर्वाचन सम्पन्न गर्न सक्ने हो कि होइन भन्नेबारे आमचासो बढिरहेका बखत २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गर्नुपर्ने कार्यहरूलाई समयबद्ध रूपमा सञ्चालन गर्न आयोगबाट निर्वाचन कार्य तालिका स्वीकृत भएको छ ।

अहिलेको जस्तै परिस्थितिमा यो सरकारले चुनाव गराउन सक्ला त ? यो प्रश्न पनि सरकारसमक्ष तेर्सिएको छ । जेन -जी आन्दोलनका क्रममा लुटिएका सुरक्षाकर्मीका थुप्रै हतियार अहिले बाहिरै छन् । प्रहरी भवनहरु जलेर नष्ट भएका कारण अधिकाँश प्रहरीहरु बाहिरै बस्न बाँध्य छन् । यस्तो अवस्थामा निर्वाचनका बखत सुरक्षाकर्मीले मतदातालाई सुरक्षा दिन सक्लान त ? थुप्रै जिज्ञशाहरु छन् । यसै विषयमा हामीले नेपालका क्रियाशील राजनीतिक दलका झापा नेतृत्वलाई फाल्गुण २१ गते चुनाव हुन्छ कि हुँदैन ? चुनाव भयो भने पार्टीको सहभागिता के हुन्छ ? पार्टीले चुनावलक्षित गतिविधि के गरिरहेको छ ? भनेर जिज्ञाशा राखेका थियौं । उहाँहरुले प्रस्तुत गरेको धारणा जस्ताको तस्तै हामीले यहाँ राखेका छौ ।

प्रेम गिरी
अध्यक्ष
नेपाल कम्यूनिष्ट पार्टी [एमाले] झापा जिल्ला कमिटी

अहिलेको परिस्थितिमा लोकतान्त्रिक मुल्यको चुनाव हुन सक्तैन । यो सरकारले दलका नेताहरुलाई हिडडुल गर्न स्थान तोक्ने नकाम गरेको छ ।जेलबाट निकालिएका कैदीबन्दी बाहिरै छन्, लुटिएका हजारौं हतियार र लाखौं गोली फिर्ता आएको छैन, गृहमन्त्रीजी हतियार दलसँग पुगेको सन्देह छरेर थप उतश्रृखल वातावरण बनाइरहनुभएको छ, सर्वदलीय÷सर्वपक्षीय एकता र विश्वास कायम भएको छैन, अदालतमा असंवैधानिक कदम विरुद्ध संसद पुनस्र्थापनाको बहस चलिरहेको छ, एमालेले संबैधानिक÷ब्यावहारिक÷जितजित को रोडम्यापबाट तोकिएको समयभित्रै चुनाव भनेकोछ । रोडम्यापमा जेनजीले उठाएका जायज मागको सम्वोधन र उनीहरुको संलग्नता सहितको सर्वदलीय÷सर्वपक्षीय सरकार गठन गरी शान्ति, सुरक्षा र भयरहित वातावरणमा गरिने चुनाव मात्र नेपाली मतदाताले स्वीकार गर्ने परिस्थितिको दिशाबोध गरिएको छ ।यी सबै कुरालाई सरकारले जिम्मेवार र भरपर्दो अभिभावकत्व र नेतृत्व दिनै सकेको छैन, चाहेको पनि देखिन्दैन ।
एमाले जबजको सिद्धान्त, लोकतान्त्रिक मूल्य र जनताको अग्निपरिक्षामा टेस्टेड हुँदै आएको छ । आवधिक निर्वाचन भनेको एमालेको मूल्य हो । बिषय यतिमात्र हो यहि अवस्थामा सरकारले चुनाव गराउन सक्दैन् । सुधारिएको अवस्था र न्यायालयको फैसला पनि त्यसरी नै आयो भने जनता जहाँ हुन्छन् एमाले सँगै हुन्छ । चुनावमा हामी जनतासँगै हुन्छौं ।
मिसन ०८४ को कसरत गरिरहेको एमालेले सो अघि नै चुनाव आइलाग्छ भने बिना तयारी अल्मलिएको हुन्छ र ! दुइवर्षपछिको जोहो अहिले नै आइप¥यो भने हाम्रो संगठन, जनसंगठन, मोर्चा संगठन र हामीमाथि अपार माया र भरोसा गर्ने मतदाता अबिचलित छन् । ध्वंश, बिनास, बिदेशीको दलाली र सेलिब्रेटी को को रहेछन् भन्ने यसपटक अझ उजागर भएको छ । एमाले बिरुद्धका भ्रम चिरिंदै गएका छन् र प्रगति, बिकास, राष्ट्रको रक्षा र जनताको पहरेदारी गर्ने असल सेवक चाहिँ एमाले र अध्यक्ष केपी ओलीको नेतृत्व हो भन्ने गाउँबस्ती र शहरमा चर्चा चुलियो त । संगठन र समर्थनमा जीवन चलाएको एमालेले अरु के गर्नु छ र यो नै हाम्रो अवसर र तयारी हो ।

केशवराज पाण्डे
उपसभापति
नेपाली काँग्रेस झापा जिल्ला समिति

नेपाली काँग्रेस पार्टी लोकतन्त्र मा विश्वास गर्छ , आज देश अत्यन्त विषम परिस्थितिबाट गुज्रिदो अवस्थामा छ जुन दुर्भाग्यपुर्ण हो । असहजता वाट सहजता पहिल्याउनु नै राजनेताहरुको मुख्य कला हो , कैयन कहाली लाग्दा घटनाचक्र हरुको संघर्षको मैदान वाट परिपक्वताका साथ सफलता को उत्कर्ष मा पुगिसकेको हाम्रो ऐतिहासिक पार्टी अफ्ठ्यारो परिस्थितिहरुलाइ सहजताका साथ अवतरण गर्ने सिलसिलामा हामी वाट भएका कमिकमजोरी हरुलाइ आत्मासाथ गर्दै यदि सरकारले निर्वाचन प्रकृयामा आवश्यक पर्ने शाान्ति सुरक्षाको वातावरणलगायत निष्पक्षताको विश्वासको वातावरण वन्छ भने नेपाली काँग्रेस पार्टी निर्वाचनमा सहभागिता जनाउँछ ।
जहाँ सम्म निर्वाचन हुने नहुने को अन्योल छ, यदि निर्वाचन गराउँने सन्दर्भमा सरकारले वातावरण वन्न सकेन भने जनताले चुनेका नेतृत्वहरु निर्वाचित जनप्रतिनिधीहरु संसद् पुस्र्थापना गरि देशको संविधान वमोजिम ट्रयाक बहिर गएको परिस्थितिलाई सहि ठाउँमा ल्याउने कर्तव्य पनि लोकतान्त्रिक पार्टीको काँधमा नै आउने छ । जस्लाइ विचलित नभइकन ‘सेफलेण्डिङ ’गर्नैपर्छ किनकि हाम्रो पार्टीले जहिले पनि देशलाइ अफ्ठ्यारो पर्दा वा हरेक ऐतिहासिक परिवर्तनमा अभिभावकत्वको भूमिका निर्वाह गरेको छ । त्यस्तै कैयन परिस्थितिहरुको गहन विश्लेषण गर्दै , राष्टिय« , अन्तराष्ट्रिय परिस्थिति समेतलाई मध्यनजर गर्दै हरेक आवश्यक परिस्थितहरुको विकल्पमा नेपाली काँग्रेस पार्टी आफुभित्रका कमि कमजोरीहरुलाइ आत्मासाथ गर्दै आफ्नो तयारी मा जुटेको छ ।

केशवप्रसाद ओझा
अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी झापा [राप्रपा] जिल्ला समिति

वर्तमान सुशील कार्कीको नेतृत्वको सरकारले आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । सरकारको क्रियाकलाप हेर्दा निर्वाचन हुने सुनिश्चितता देख्न सकिन्न । यो निर्वाचन तयारीका निमित्त गर्नुपर्ने कामहरूभन्दा अन्यत्र सरकारको ध्यान केन्द्रित भएको पाइन्छ । देशको वर्तमान समस्याको समाधान नयाँ निर्वाचन नै हो भन्ने कुरामा राष्ट्रिय प्रजातन्त्र पार्टी विश्वस्त छ । यही पद्धति यही प्रणाली यही संविधान अन्तर्गत गरिने निर्वाचनले दीर्घकालीन समस्याको समाधान गर्छ भन्ने कुरामा राप्रपा विश्वास गर्दैन ।
निर्वाचन प्रणालीमा परिवर्तनको जरुरी छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्ट धारणा छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सबैको आम सहमतिमा अभिभावकीय संस्थाको रूपमा संवैधानिक राजसंस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको मताधिकारको सुनिश्चितता, महँगो निर्वाचन प्रणालीको अन्त्यको निमित्त सांसदले मन्त्री हुन नपाउने व्यवस्था, विज्ञहरु समाबेश भएको मन्त्रिमण्डल राप्रपा यो प्रकारको निर्वाचन प्रणाली र शासकीय व्यवस्थाको पक्षमा रहेको छ ।
फेरि पनि सरकारले निर्वाचन ग¥यो भने राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचनबाट भने भाग्ने छैन । केन्द्रदेखि स्थानीय तहको टोलसम्म सांगठनिक अवस्था भएको राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचनको तयारी सँगसँगै पार्टीले चाहेको निर्वाचन प्रणालीको मागसहितको जनजागरण अभियान साथसाथै अगाडि बढाएर लैजाने राष्ट्रिय प्रजातन्त्र पार्टीको हालैको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार तयारी प्रारम्भ गरिसकेका छौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको निर्णयकत्व नेपालीहरूकै हातमा हुनुपर्छ भन्ने पक्षमा दृढ रहेको छ । वर्तमान अवस्थामा नेपालको राजनीतिमा विदेशी चलखेल हावी भएको देख्न पाइन्छ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नेपालीहरूले नै शासन सञ्चालन गर्ने राष्ट्रको रुपमा रहनुपर्छ भन्ने मान्यतामा दृढ रहेको छ ।
फेरि पनि राष्ट्रिय प्रजातन्त्र पार्टी सबै दलहरूले आफ्नो अहमता त्यागी विगतमा आफैंबाट भएका कमी कमजोरीहरुलाई सुधार्दै निर्वाचन प्रणालीलाई परिवर्तन गर्दै अभिभावकीय संस्थाको रूपमा संवैधानिक राजसस्था कायम गरौं ।

 

प्रकाश पाठक
कार्यवहाक सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] झापा जिल्ला समिति
चुनाव हुन्छ गर्नपर्छ । रास्वपा निर्वाचनमा भाग लिन तयार छ । हामी पुर्णत निर्वाचन केन्द्रित तयारीमा छौ । रास्वपा अहिले नयाँ मतदाता नामावली संकलनका लागी घरदैलो अभियानमा छ । बुथ समिति निर्माण र निर्वाचन क्षेत्र समितिलाई सक्रिय बनाएर निर्वाचनको प्रारम्भिक तयारीमा जुटेका छौ । सरकारले अपेक्षाकृत काम गर्न नसकेपनि अहिले नै मुल्याकन गर्ने समय भई सकेको छैन् । नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) ले बार्गीनिङगरेर केही समय धकेल्न खोजेको मात्र हो । फागुनमा नभए बैशाखमा त निश्चित हुन्छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.