झापा । आगामी मंसिर महिनामा सञ्चालन हुने तय भएको ‘दशौँ राष्ट्रिय खेलकुद’लाई लक्षित गर्दै झापा जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डले असोज २० गतेदेखि २५ गतेभित्रमा जिल्लास्तरीय छनोट सम्पन्न गर्न निर्देशन दिएअनुसार समितिले आफ्नो आवश्यक तयारी अघि बढाएको हो।
कोशी प्रदेश खेलकुद विकास बोर्डको सूचनाबमोजिम झापा जिल्ला खेलकुद विकास समितिले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित खेलाडी, विधागत खेलका संघ-संस्था तथा प्रशिक्षक र व्यवस्थापकहरूलाई खेलाडी दर्ताका लागि आह्वान गरेको छ। सूचनाअनुसार समितिमा यतिबेला धमाधम खेलाडी तथा टिम दर्ताको काम भइरहेको समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो।
कार्यालय प्रमुख नेम्बाङका अनुसार असोज १९ गतेसम्ममा खेलाडी दर्ता गर्ने समयसीमा तोकिएको छ। दर्ता प्रक्रिया सकिएलगत्तै असोज २० गतेदेखि झापाका विभिन्न स्थानहरूमा मैदानमा प्रतिस्पर्धा गराएरै पारदर्शी रूपमा खेलाडी छनोटको कार्य अघि बढाइनेछ।
दशौँ राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय स्तरमा कुल ३२ वटा खेल विधा तय गरिए पनि झापाबाट भने २८ वटा विधामा खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतियोगितामा पठाइने कार्यालय प्रमुख नेम्बाङले स्पष्ट पार्नुभयो।
झापामा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फुटबल, फुल कन्ट्याक्ट कराते, हक्की, आईटीएफ तेक्वान्दो, जुडो, कबड्डी, कराते, खो खो, रग्बी, सुटिङ, पौडी, टेबल टेनिस, तेक्वान्दो, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, इ-स्पोर्टस् र सेपाक्ताक्रो गरी २८ खेलका लागि खेलाडी छनोट गर्न लागिएको छ। सोहीअनुरूप खेल मैदान र व्यवस्थापकीय तयारीलाई तीव्र बनाइएको समितिका अध्यक्ष शेखर कँडेलले जानकारी दिनुभयो।


























