विमानको पछिल्लो भागमा पंखाको साईडमा राखिएको एक महत्वपूर्ण उपकरण हो, ब्ल्याक बक्स । विमान दुर्घटना भन्ने बित्तिकै के कारणले दुर्घटना भयो भन्ने आधिकारीक कारण थाहा पाउन त्यहि ब्ल्याक बक्सको खोजी गरिन्छ । त्यसैले यो विमानका लागि अति आवश्यक उपकरण हो । हामीले सुन्ने गरेका पनि छौ विमान दुर्घटना भयो भने ब्ल्याक बक्सको खोजी हुन्छ ।
आखिर यो ब्ल्याक बक्स केहो त ? हरेक विमानमा ब्ल्याक बक्स हुन्छ र दुर्घटनापछि यो ब्ल्याक बक्स खोजिन्छ । ब्ल्याक बक्स के हो र यसले के काम गर्छ भन्ने बारेमा भने धेरैलाई थाहा नहुन सक्छ ।
के हो त ब्ल्याक बक्स ?
ब्ल्याक बक्स खासमा एक रेकर्डर हो । यो रेकर्डरमा विमान दुर्घटना हुनुभन्दा अघि २ घण्टाको आवाज रेकर्ड हुन्छ । यसमा विमानभित्रका सबै आवाज रेकर्ड हुन्छन् । विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सकुशल रहन्छ र यसमा रेकर्ड भएको आवाजको आधारमा दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ । र, त्यसबाट के थाहा हुन्छ भने, दुर्घटनाका बेला जहाजमा कस्तो अवस्थामा थियो । पाइलटहरुले के कस्तो कुरा गरेका थिए ? के भनेका थिए ? यी सबै कुरा त्यहि ब्ल्याक बक्सबाट थाहा हुन्छ ।
विमानको कुन भागमा हुन्छ ब्ल्याक बक्स ?
सुरक्षाको दृष्टिले ब्ल्याक बक्सलाई खासगरी विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन । ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ । यतिसम्म की समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।
























