२१ फाल्गुणका सपना

A notice in Nepali from Mechinagar Ward No. 10
पवित्रा निरौला खरेल

२१ फाल्गुणसँग हाम्रो आस्था, हाम्रो भावना जोडिएको छ । सुखानी जङ्गलको नाम सुन्ने बित्तिकै हाम्रा शरिरका रौं ठाडा हुन्छन्, शरिरभरि काँडा उम्रन्छन् । त्यस जङ्गलसँग कम्युनिष्ट पार्टीको गहिरो नाता छ, अमर शहिदहरुको रातो र तातो रगत पोखिएको त्यस धरतीको प्रगाढ माया छ, स्नेह छ त्यस भूमिको ।

भूमिगतकालमा झापाबाट इलाम जाने क्रममा घना जङ्गलभित्र उम्रिएका पाँच वटा रुखको छेउमा पुग्दा ५ जना शहिदहरुलाई भेटे जस्तो लाग्दथ्यो । पल्याक पुलुक्क वरीपरि कोही छ की ? भनेर निहाल्दै, गोठाला, दाउरे वा वटुवाले देख्ला कि भनेर लुक्दै जोसिलो लालसलाम गरेर, वनमा भेटिएका वनफूल शहिदहरुलाई अर्पण गरेर हिड्दथ्यौं । नेपाली महिना वर्षको १२ महिना मध्येको फाल्गुण महिनाको २१ फाल्गुण अत्यन्तै महत्व राख्ने दिनका रुपमा हामी लिन्छौं । एकै स्थानमा ५/५ जना वीरहरुको रगत पोखिएको त्यो दिन ।

२१ फाल्गुण सम्झने बित्तिकै ती बहादुर योध्दाको तस्बिर आँखा अगाडि नाँच्न थाल्छ । ती वीरहरुले आफ्नो व्यक्तिगत सुख सुविधा, पारिवारीक माया ममता त्यागेर भोका, नाङ्गा, शोषित, उत्पीडित नेपाली जनताको मुक्तिका खातिर आफ्ना अमूल्य जीवनको आहुती दिए । आज शहिदहरु रामनाथ दहाल, नेत्र घिमिरे, कृष्ण कुँइकेल, नारायण श्रेष्ठ, विरेन राजवंशीको सुखानीमा बगेको रगतले कम्युनिष्ट नेता र कार्यकर्ताहरुलाई प्रश्न गरिरहेको छ, के हाम्रा सपना साकार हुनेछन् ? के हामीले बगाएको रगतले सम्मान पाउने छ ? ती नेपाल आमाका सपुत महान् शहिदहरुको आस्था अटल थियो । हिमाल जस्तो अटल, हिउँ जस्तो स्वच्छ । जसको भावना र व्यवहार कति निश्कलंक र निःस्वार्थी थियो, कहि कतै लोभ, लालच र स्वार्थका अंशहरु देखिदैन थिए । त्याग, निष्ठा र आस्थाका अडिग योध्दाहरुले यस्तो सपना देखेका थिए । अन्याय अत्याचार रहित समाज, ठूलो र सानो, धनि र गरिबको खाडलको अन्त्य गरि समानतापूर्ण समाज, सबै जनता शिक्षित, जनताको आवश्यकता अनुसारको काम, काम अनुसारको दाम प्रदान गर्ने व्यवस्था भएको सुन्दर नेपाल। समृद्ध नेपाल निर्माण गर्ने सपना ।

आफूले बोकेको लक्ष्य पुरा गर्न शोषित पीडित जनताको हित प्रतिनिधित्व गर्ने महान पार्टी कम्युनिष्ट पार्टीमा आवद्ध भई कम्युनिष्ट सिद्धान्त मूल्य र मान्यतामा दृढ भई अनुशासित, लगनशिल, सृजनशील, जनभावनाको कदर गर्ने, जनप्रेमी नेताको रुपमा नेत्तृत्व गर्दै, तमाम जनता र कार्यकर्तालाई मार्ग निर्देशन गर्दै अगाडी बढ्ने क्रममा प्रतिकृयावादी शासकहरुले जेलमा थुनेका थिए । जेलका चार पर्खालभित्र फलामे जन्जीरले बाँधेर राख्दा पनि ती कम्युनिष्ट क्रान्तिकारीहरुको बिचार थुन्न नसक्ने डरले पंचायती शासकहरुले सदाका लागि बिचार मार्न सुखानीको जङ्गलमा लगेर हत्या गरेका थिए । ति वीर क्रान्तीकारीहरुले यस्तो साथी पाएका थिए, जुन साथी आसपमा छाँया जस्ता थिए, जुन छाँयाले कहिल्यै साथ छोडेदैन अनि छोडेन पनि । साथीलाई ख्वाएर मात्र आपूmू खाने साथीलाई सुख दिएर आफु दुःख सहने ती पाँचै जनाम त्यो भावना थियो । जसले गर्दा अनेकौं यातानाको प्रहार खपेर पनि कहिल्यै आफ्ना बाहिर भएका साथीहरुको नाम खोल्नुभएन । ठेगाना बताउनुभएन ।

त्यस ताकाको फलामे अनुशासन पालना गर्ने क्रान्तिकारीहरुको टिम थियो, प्रशिक्षित पारदर्शी, पूर्ण विश्वासी कमरेडहरु जो ऐना जस्तो, जुन ऐनाले कहिल्यै झुटो बोल्दैन यस्तो साथीको साथ पाएका क्रान्तिकारीहरुले आफ्नो बिचार सिद्धान्तमा सधैं प्रतिवद्ध रहेन प्रण गर्दै पंचायती प्रतिकृयावादी शासकहरुका बन्दुकको नाल अगाडी शिर उचो राखि न्यायप्रेमी जनताको मुक्तिका खातिर आफ्नो कलकलाउँदो जीवन उत्सर्ग गर्नु भयो । हरेक वर्ष झापाली वीरहरुको रगतले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, स्वदेश विदेश र प्रवास समेतका कम्युनिष्टहरुलाई खबरदारी गरिरहेको छ । सहि बिचार बोकेर हिड्नका लागि, पार्टी नीति सिद्धान्त अनुरुपको व्यवहार गर्नका लागि सधैं सधैं यो महान दिनले घचघच्याई रहेको छ ।

सुखानीमा शहिदहरुले रगत बगाएको पनि आज ४३ वर्ष बितेछन् । देशमा हजारौं हजार नेता कार्यकर्ताहरु सुखानीका शहिदहरुको प्रेरणाबाट अगाडि बढ्दै राज्यका बिभिन्न निकाय र सर्वोच्च निकायमा समेत पुग्नु भएको छ । म सम्पूर्ण कम्युनिष्ट पार्टीमा आवद्ध कमरेडहरुलाई अनुरोध गर्न चाहन्छु । ती प्रेरणाका श्रोत महान शहिदहरुको मर्म र भावना आज छाँयामा परेको अनुभुत भएको छ । यी प्रेरक महान हस्तीको निष्ठा, दृढता, आस्थाको पूर्ण सम्मान हुन नसक्ने हो कि ? प्रश्न चिन्ह खडा भएको छ । पार्टीमा अविश्वास, स्वार्थ, अराजकता बढेको छ । पार्टी पद्धतिलाई लत्याउने व्यक्ति हाबि हुने, व्यक्तिलाई जे मन लाग्यो त्यही गर्ने प्रवृत्ति मौलाएको छ । पार्टीमा लामो समय काम गर्ने कार्यकर्ताको पंक्ति बेखबर भएको छ । पार्टीले कार्यकर्ता निर्माणमा लगाएको लगानी र व्यक्तिले पार्टीमा लगाएको लगानी त्यसै खेर गएको छ । अवसरको खोजीमा हराएको छ, भने अर्को तर्फ कम्युनिष्ट बिचारमा कहिल्यै आस्था नराख्ने व्यक्तिले आज पार्टीलाई दिएको दानका नाममा मान सम्मान पाएको छ, अवसर पाएको छ । बलबाहु हुनेले पार्टीलाई आफ्नो स्वार्थ पूर्ति गर्ने प्लेटफार्म बनाउन थालेका छन् । यस्तै प्रवृति मौलाएर जाने हो भने किन आस्थाको लडाईं लड्ने ? किन बिचारको लडार्इं लड्ने ?

हाम्रो गौरवपूर्ण पार्टीको कार्य पद्धति व्यक्तिगत बिचारको स्वतन्त्रता तथा सामुहिक निर्णयको परिपालना, व्यक्ति संगठनको मातहत, अल्पमत बहुमतको मातहत, तललो कमिट िमाथिल्लो कमिटीको मातहत रहने पद्धति हो, कम्युनिष्ट पार्टीको पद्धति हो । वर्तमान अवस्थामा यस पद्धतिलाई परिपालना गर्न नसकेको अवस्था रहेको छ । साथै चित्त नबुझेको सवाललाई संगठनमा नै राखेर छिनोफानो गर्नुपर्ने, असन्तुष्किा अभिव्यक्ति बाहिर नलैजाने जुन हाम्रो पद्धति हो त्यो उल्लंघन हुन थालेको छ । कतै चित्त नबुझेको सवाल राख्ने ठाउँ छैन । त कतै राख्ने ठाउँ भएर पनि राखिदैन, असन्तुष्टिका अभिव्यक्तिहरु बाहिर यत्रतत्र सर्वत्र छरिएका छन् । पार्टीमा राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाई कार्वाही गर्ने कार्यकर्तालाई सधैं धारिलो बनाउने आलोचना आत्मालोचना नामक सान लगाउने पद्धतिको अन्त्य भएको छ । अर्को पार्टी निर्माणको अत्यन्तै महत्वपूर्ण पक्ष कम्युनिष्ट कार्यशैली हो । यो नितान्त व्यवहारसँग सम्बन्धित हुन्छ । तर आज पार्टी सदस्य भित्रै कम्युनिष्ट कार्यशैलीको खडेरी परेको छ । पार्टी सिद्धान्तप्रति प्रतिवद्ध खुल्ला, खुलस्त, पारदर्शी जीवनशैली कम्युनिष्ट कार्यकर्तामा हुनुपर्दछ । कम्युनिष्ट कार्यकर्ताले कहिल्यै झुटो बोल्नुहुदैन, नेत्तृत्वलाई ढाँट्नु र खुइल्याउनु हुदैन । तथ्यको आधारमा सत्य पत्ता लगाउने शैली अपनाउनु पर्दछ । कम्युनिष्टले कुनै पनि विषय, घटना र व्यक्ति प्रति अन्ध समर्थन गर्न हुदैन । कम्युनिष्ट पार्टी सर्वहारा, मजदुर, किसान र सम्पूर्ण न्यायप्रेमी जनताको प्रतिनिधि भएकाले त्यस पार्टीका नेता कार्यकर्ताको कार्यशैली शिष्ट, सभ्य, मर्यादित, नम्र, स्वाभिमानी अनुशासित काम प्रति लगनशील, सृजनशील तथा जनभावनाको कदर गर्ने आचरण र शैलीको अनुशसरण गर्न छोडिएको छ ।

मुलुकमा बिभिन्न कालखण्डमा भएका आन्दोलन, क्रान्ति र जनक्रान्तिबाट परिवर्तन आएको छ । सामन्तवादको अन्त्य भएको छ । पूँजीवाद तर्फ देश अधि बढेको छ । पूँजीवादको बोलवालासँगै तत्कालिक समाजमा डन, गन र धन हावी भएको छ । समाजमा हरेक दिन घट्ने सानातिना घटना मुद्धा मामिला र समस्यामा पनि आज डन प्रवृत्ति मौलाएको छ । सही विचार पक्ष मुर्रछाएको छ । हाम्रो पार्टीको नीति जवजको नीति अनुरुप प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्दै अगाडि बढ्ने क्रममा कतिपय ठाउँमा संघ संस्था, समिति, क्लब, पार्टीका निर्वाचनमा हामीले सफलता हात पारेका छौं । जुन ठाउँमा विचार पक्ष प्रवल छ । पार्टी पद्धति गतिशिल छ । त्यस्ता कमिटी÷संगठनका प्रयत्नबाट स्वास्थ्य प्रतिष्पर्धाबाट विजय प्राप्त भएको छ । कतिपय स्थितीमा सानातिना आन्तरिक समस्याका कारणले गर्द आफ्नो घरमा आगो लगाएर शत्रुको घरको संरक्षण गर्ने प्रवृत्ति देखिएको छ । ३६४ दिन एमाले हुने, मतदानको दिन अर्थोक हुने प्रवृत्ति पनि देखिएको छ । आन्तरिक प्रतिष्पर्धा र वाह्य प्रतिष्पर्धालाई हेर्ने एउटै नजरिया भएको कारण पार्टी संगठन मजबुत भएर पनि, कार्यकर्ताको पंक्ति बलियो भएर पनि, बहुमत जनमत हुँदा हुँदै पनि ३६४ दिन पार्टीको वफादार सिपाही बनेर काम गर्ने कार्यकर्ता १ दिन शत्रुको खेतालो भएपछि पार्टीले हार खाएको छ । बिचार दुर्बल भएको छ । यस्तो अवस्था नसुधारे प्रतिष्पर्धाबाट श्रेष्ठता हाासिल गर्न पार्टी निर्माण चुनौतिपूर्ण हुन सक्छ । दिनप्रतिदिन मौलाउँदै गएको गलत चिन्तन र प्रवृत्तिको अन्त्य गर्न पार्टीको उपल्लो कमिटीबाटै निर्देशन हुनुपर्दछ । मुहानबाटै सङ्गलिएर आउनु पर्दछ । अनि मात्र विश्वव्यापी रुपमा स्थापित कम्युनिष्ट अनुशासन, आचरण, कार्यशैली । व्यवहारशाट प्रेरित भई अघि बढ्न सकिनेछ । तब मात्र संघ, संस्था, समिति, पार्टीका जनसंगठन, पार्टी संगठन तथा राज्यका बिभिन्न निकायमा हुने प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न सकिनेछ । साँचो अर्थमा जवजको सिद्धान्तलाई आत्मसात गर्न सकिनेछ ।

आज २१ फाल्गुणका सपना पुरा गर्न जननेता क. मदन भण्डारीले प्रतिपादन गर्नुभएको जवजलाई प्रत्येक कम्युनिष्ठ कार्यकर्ता र नेताले आत्मसात गर्दै अघि बढौं । पार्टी अनुशासनको पालना गर्दै शहिदको आस्था र सपना पुरा गर्ने प्रण गरौं ।
अन्त्यमा,
शहिद तिम्रो सपनालाई साकार हामी गर्छौं
गलत चिन्तन प्रवृत्तिको अन्त्य हामी गर्छौं
सम्मान गर्छौं शहिद तिम्रो महानतालाई
भावपूर्ण श्रद्धान्जली २१ फाल्गुणलाई

(खरेल प्रतिनिधिसभा सदस्य हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.