भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले चैत एक देखि लागू गर्ने भनेको सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडानको मिति पछि धकेलिएको छ ।
विभागले चैत एक गतेदेखि देशभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भनेर घोषणा गरेको थियो । तर,यहि बीचमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालको सरुवा भएपछि नम्बर प्लेट जडान मिति अन्योल भएको हो ।
अहिले सवारीसाधन इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने नेतृत्व लिएका महानिर्देशक हमाल सूचना तथा प्रविधि मन्त्रालय तानिएका छन् ।
अहिले अघिकांश सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान धमाधम भइरहेको छ । तर, चैत एक गतेबाट निजी तथा सार्वजनिक सवारीसाधनमा पनि जडान अनिवार्य गर्ने भनिएको नम्बर प्लेट जडानको मिति पछि धकेलिने भएको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए ।
‘महानिर्देशक ज्यूको नेतृत्वमा चैतबाट अनिवार्य भनिएको थियो तर,उहाँको सरुवा भएपछि यो प्रक्रियाको लागि केहि समय लाग्ने भएको छ’ उनले भने ‘इम्बोस्ड नम्बर प्लेटको लागि हामी नयाँ महा निर्देशकको पर्खाइमा छौं’ ।
सरकारी सवारी साधनमा भने गत फागुनदेखि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य भइसकेको छ । निर्देशक पौडेलका अनुसार ६ हजार बढी सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेका छन भने चार हजारले जडान गर्नका लागि बुक गरिसकेका छन ।
अहिले देशको यातायात क्षेत्रकै नियमन गरिरहेको यातायात व्यवस्था विभाग नेतृत्वविहीन छ ।
खासगरी अत्याधुनिक प्रविधिमा आधारित रहेको भनिएको इम्बोस्ड नम्बर प्लेट जडान शुल्क चर्को रहेको सेवाग्राहीले बताउँदै आएका छन ।
तर,सरकार बढी राजस्वको प्रलोभनमा परेर जनतालाई चर्को शुल्कको भार बोकाउने भएको सेवाग्राहीको गुनासो छ ।
सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य बनाएसँगै प्रत्येक सवारीधनीले आफ्नो सवारी अनुकुल प्रति सवारी साधन २ हजार ५ सय देखि ३ हजार ६ सय रुपैयाँ तिरेर जडान गर्नुपर्नेछ । यसले सबै आम सर्वसाधारणलाई आर्थिक भार पर्ने निश्चित छ ।
यातायात व्यवस्था विभागका अनुसार सरकारले जडान गरिदिन लागेको इम्बोस्ड नम्बर प्लेटको मूल्य हाल ठूला सवारी साधनमा जडान गरेको ३ हजार ६ सय रुपैयाँ, मझौला तथा साना चारपांग्रे सवारीसाधनमा जडान गरेको ३ हजार २ सय रुपैयाँ, ३ पांग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैयाँ र साना २ पांग्रे सवारीसाधनहरुका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
सेवाग्राहीहरुले पनि बारम्बार शुल्क महँगाे भएको भन्दै विरोध गरिरहेका छन् । विरोध भएको खण्डमा इम्बोष्ड नम्बर प्लेट जडान शुल्क घट्न सक्ने संकेत रहेको विभागकै कर्मचारी बताउदै आएका छन् ।
हाल नेपालमा दर्ता भएका झन्डै ४० लाख सवारीसाधनमा इन्बोस्ड नम्बर प्लेट जडानबाट अर्बाै राजस्व उठाउने योजना बनाएको छ ।
इम्बोस्ड नम्बर प्लेट जडानबाट के फाइदा ?
सवारीसाधनमा अगाडि र पछाडि दुबैतिर इन्बोस्ड नम्बर प्लेट जडान गरिन्छ । त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर’ भनिन्छ । यही स्टिकरलाई आरएफआईडी ट्रयाकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस’ ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्न सकिन्छ ।
यसका लागि विभिन्न स्थानमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसनका डिभाइस भएको गेटको आवश्यकता पर्दछ । यसका माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको सवारीसाधन हो, कसले प्रयोग गरिरहेको छ,कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ ।
त्यस्तै सवारीसाधनले कर तिरे नतिरेको समेत सहजै थाहा पाउन सकिन्छ । लामो समय राजस्व नतिरी चलिरहेका सवारीसाधनपनि करको दायरामा आउने छन् ।
सवारीसाधन चोरीका घटना दिनानुदिन बढ्दै गएको अवस्थामा इम्बोष्ड नम्बर प्लेटले नियन्त्रण गर्ने छ । सवारीमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि ५ देखि १० वर्षसम्म परिवर्तन गर्नुपर्दैन ।
सवारी साधन इम्बोस्ड शुल्क
मोटरसाइकल,स्कुटर २५००
टेम्पु, अटो, तीनपाग्रे २९००
जिप, कार, भ्यान ३२००
बस, ट्रक, ट्रयाक्टर ३६००
इम्बोस्ड नम्बर प्लेट फारम भर्ने तरीकाको जानकारीको लागी यहाँ जानुस्
