झापाको अर्जुनधारा नगरपालिका–११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई जग्गाको स्वामित्व प्रमाणपत्र प्रदान गरेको हो।
लालपुर्जा वितरण कार्यक्रममा सात परिवारलाई कुल ८ हजार २२४ वर्गमिटर अर्थात् करिब १ बिघा ४ कट्ठा ५ धुर जग्गाको स्वामित्व प्रदान गरिएको छ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका संयोजक श्रवणकुमार पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
लालपुर्जा प्राप्त गर्नेमा अर्जुनधारा–११ का सुनिता बिक, रेणुका देवी दर्जी, राहन सिंह याखा, सरिता दर्जी, बसन्त कुमार तामाङ, मुशान सुब्बा र रत्नबहादुर इङ्नाम रहेका छन्।

झापामा ६२ हजारभन्दा बढीको आवेदन
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार जिल्ला भूमि समस्या समाधान समितिमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ६२ हजारभन्दा बढीले भूमि प्राप्तिका लागि आवेदन दिएका छन्।
त्यसमध्ये भूमिहीन दलिततर्फ २ हजार ८९३, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७२८ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ६६६ जनाले निवेदन दिएका छन्।
झापाका सबै १५ स्थानीय तहको नेतृत्वमा आवेदनको छानबिन तथा आवश्यक प्रक्रिया अघि बढिरहेको समितिले जनाएको छ।
योग्य निवेदकलाई प्राथमिकताका आधारमा लालपुर्जा
प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रचलित कानुनअनुसार प्रक्रिया पूरा गरी जग्गा प्राप्त गर्न योग्य देखिएका निवेदकलाई समितिको क्षमता र उपलब्ध स्रोतका आधारमा उच्च प्राथमिकताका साथ लालपुर्जा वितरण गर्दै जाने बताए।
भूमिसम्बन्धी समस्या समाधानका लागि स्थानीय तहसँगको समन्वयमा छानबिन तथा प्रक्रिया अघि बढाइरहेको उनले जानकारी दिए।
लामो समयदेखि जग्गाको स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका अव्यवस्थित बसोबासी परिवारले लालपुर्जा प्राप्त गरेसँगै उनीहरूको जग्गामाथिको कानुनी स्वामित्व थप सुनिश्चित भएको छ।


























