📌 मुख्य बुँदाहरू:
- यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको ज्यान गएको छ।
- मृत्यु भएकामध्ये झन्डै दुईतिहाइ अर्थात् ३२ हजार ६१९ जनाको मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन जिम्मेवार रहेको अध्ययनले देखाएको छ।
- इटाली, फ्रान्स, स्पेन र जर्मनीमा अत्यधिक गर्मीका कारण सबैभन्दा धेरै नागरिकले ज्यान गुमाएका छन्।
यस वर्षको गर्मीयाममा युरोपभर अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको ज्यान गएको एक नयाँ अध्ययनले देखाएको छ। तीमध्ये झन्डै दुईतिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन प्रत्यक्ष रूपमा जिम्मेवार रहेको अनुसन्धानकर्ताहरूले औँल्याएका छन्।
अनुसन्धानकर्ताहरूले गएको जुनदेखि अगस्टसम्म युरोपका ८५४ शहरमा गरेको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण थपिएको तापक्रमसँग सम्बन्धित घटनाबाट मात्रै ३२ हजार ६१९ जनाको ज्यान गएको छ। अध्ययनमा युरोपको झन्डै ४० प्रतिशत जनसङ्ख्या मात्र समेटिएकाले ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।
जलवायु परिवर्तनले बढाएको खतरा
इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बार्न्सका अनुसार जीवाश्म इन्धन जलाउँदा बढेको तापक्रमले सामान्यतया असहज हुने गर्मीलाई खतरनाक र ज्यानै लिन सक्ने अवस्थामा पुर्याएको छ। हाल युरोपको तापक्रम औद्योगिक युगअघिको तुलनामा २.५ डिग्री सेल्सियस बढिसकेको छ भने यस गर्मीयाममा केही शहरको तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म धेरै पुगेको अध्ययनमा उल्लेख छ।
अध्ययनले गर्मीका कारण सबैभन्दा बढी इटाली, फ्रान्स, स्पेन र जर्मनीका नागरिकले ज्यान गुमाएको देखाएको छ। ज्यान गुमाउनेमध्ये आधाभन्दा बढी ८५ वर्ष वा त्योभन्दा धेरै उमेरका रहेका छन्। यद्यपि, २० देखि ४४ वर्ष उमेर समूहका ८०० भन्दा धेरै व्यक्तिको पनि अत्यधिक गर्मीका कारण ज्यान गएको अध्ययनका सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताएका छन्। सन् २००० को दशकको शुरुआतमा गर्मीसम्बन्धी कुल मृत्युमा जलवायु परिवर्तनको हिस्सा ४५ प्रतिशत रहेकामा अहिले बढेर ६५ प्रतिशत पुगेको छ।



















