📌 Key Takeaways:
- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
- जिल्ला अदालत ललितपुरका न्यायाधीश हरिसिंह धामीको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
- मुद्दा दर्ता भएपछि फरार रहेका अध्यक्ष नेम्वाङ र महासचिव राईले अदालतमा हाजिर भई बयान दिएका थिए।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राई जनही ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत ललितपुरको आदेशपछि उनीहरू धरौटीमा छुटेका हुन्।
जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले आज अध्यक्ष नेम्वाङ र महासचिव राईलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। मुद्दा दर्ता भएपछि फरार रहेका दुवै जनाले अदालतमा उपस्थित भई बयान दिएका थिए। उनीहरूको बयानपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश सुनाएको हो।
के छ अभियोग?
अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध फिफा विश्वकप छनोटअन्तर्गतको खेल बहराइनमा सार्न मिलेमतो गरेको, टिकट बिक्रीको रकम अपचलन गरेको तथा आर्थिक कार्यविधि विपरीत खेलकुद सामग्री खरिद गरी अनियमितता गरेको गम्भीर अभियोग लगाइएको छ।
यसअघि यही प्रकरणमा प्रतिवादी बनाइएका कोषाध्यक्ष रविन्द्र जोशी १५ लाख रुपैयाँ र लेखा अधिकृत सञ्जीव पाण्डे १२ लाख रुपैयाँ धरौटीमा यसअघि नै रिहा भइसकेका छन्। अदालतको यस आदेशसँगै फुटबल सङ्घको आर्थिक अनियमितता प्रकणमा नयाँ मोड आएको छ।

















