📌 Key Takeaways:
- मेची करिडोरअन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङ सडकखण्डको ठेक्का सम्झौता अन्त्य गरिएको छ।
- पटक-पटक म्याद थप भए पनि ६३ महिनामा भौतिक प्रगति ४७ प्रतिशत मात्रै भएको छ।
- सडक डिभिजन इलामले चालु आर्थिक वर्षमा विभिन्न आयोजनाका १२ वटा ठेक्का तोडिसकेको छ।
पटक-पटक म्याद थप्दा पनि निर्माणकार्य सन्तोषजनक नभएपछि सडक डिभिजन इलामले बेलासे-गोलाखर्क भञ्ज्याङ सडकखण्डको ठेक्का सम्झौता अन्त्य गरेको छ। इलाम, पाँचथर र ताप्लेजुङका लागि महत्त्वपूर्ण मानिएको यस सडकको काम ३ वर्षदेखि अलपत्र पर्दै आएको थियो।
मेची करिडोरअन्तर्गत केचना-कञ्चनजङ्घा सडकअन्तर्गत पर्ने ९.५ किलोमिटर खण्ड निर्माणका लागि २०७८ असार २९ गते सम्झौता भएको थियो। सम्झौताको प्रावधान अनुसार २०८० पुस २९ गतेभित्र निर्माण कार्य सकिसक्नुपर्ने थियो। तर निर्धारित समयमा काम नसकिएपछि विभिन्न चरणमा म्याद थप गरिएको थियो।
६३ महिनामा ४७ प्रतिशत मात्रै प्रगति
कुल ६३ महिनाको अवधि बितिसक्दा पनि सडक निर्माणको भौतिक प्रगति जम्मा ४७ प्रतिशतमा मात्र सीमित रहेको छ। पछिल्लो सात महिनाको अवधिमा तीन प्रतिशतभन्दा कम काम भएपछि डिभिजन कार्यालयले कडा कदम चाल्र्दै ठेक्का तोड्ने निर्णय लिएको हो।
१२ ठेक्का रद्द, करोडौँ रकम असुल प्रक्रियामा
सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म विभिन्न आयोजनाअन्तर्गतका १२ वटा ठेक्का सम्झौता रद्द गरिसकेको छ। तोडिएका ठेक्काहरूबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल उपर गरिएको कार्यालयले जनाएको छ।
त्यसैगरी, कार्यसम्पादन जमानतबापत जफत हुनुपर्ने ६ करोड ७९ लाख रुपैयाँका लागि सम्बन्धित बैंकहरूलाई पत्राचार गरिएको छ। कानुन र ठेक्का सम्झौताको परिधिभित्र रही असुल गर्न बाँकी अन्य सम्पूर्ण रकमसमेत कानुनी प्रक्रियामार्फत उठाइने डिभिजनले स्पष्ट पारेको छ।

















