📌 Key Takeaways:
- नेपाली बजारमा पाइने इनर्जी ड्रिङ्क्स मानव उपभोगका लागि सुरक्षित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दाबी।
- मुलुकभर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरणका लागि १७ वटा उद्योगले अनुमति प्राप्त गरेको विभागको भनाइ।
- बालबालिका, गर्भवती, सुत्केरी महिला र मधुमेहका बिरामीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न विशेष आग्रह।
नेपाली बजारमा उपलब्ध इनर्जी ड्रिङ्ग्स उपभोगका लागि पूर्ण रूपमा सुरक्षित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्पष्ट पारेको छ। विभागले हालै एक विज्ञप्ति जारी गर्दै बजारमा बिक्री भइरहेका यस्ता पेय पदार्थहरूमा प्रयोग हुने क्याफिनको मात्रा मानव स्वास्थ्यका लागि तोकिएको सुरक्षित सीमाभित्रै रहेको दाबी गरेको छ।
विभागका अनुसार नेपालमा इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गर्न विभिन्न १७ वटा उद्योगले आधिकारिक अनुमति लिएका छन्। ती उद्योगहरूबाट उत्पादित पेय पदार्थहरूको लेबल विवरण तथा प्रयोगशालाबाट गरिएको परीक्षण प्रतिवेदनबाट समेत क्याफिनको मात्रा निर्धारित सुरक्षित सीमाभित्र रहेको पुष्टि भएको विभागले जनाएको छ। विज्ञप्तिमा प्रति क्यान (१०० मिलिलिटर) मा क्याफिनको मात्रा सुरक्षित मापदण्डअनुसार नै प्रयोग गरिएको उल्लेख छ।
संवेदनशील समूहलाई नपिउन आग्रह
विभागले इनर्जी ड्रिङ्क्स सामान्यतया सुरक्षित रहेको बताए पनि सबै उपभोक्ताका लागि भने यो उपयुक्त नहुने स्पष्ट पारेको छ। विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरू, मधुमेहका बिरामीहरू तथा क्याफिनप्रति संवेदनशील व्यक्तिहरूलाई यस्ता पेय पदार्थहरूको सेवनबाट टाढै रहन विभागले विशेष आग्रह गरेको छ।

















