📌 मुख्य बुँदाहरू:
- स्वास्थ्य मन्त्रालयद्वारा सातवटै प्रदेशका सात ठूला अस्पतालमा 'लेभल-३' जलन उपचार सेवा विस्तार गर्ने तयारी।
- चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको क्षमता वृद्धिका लागि कीर्तिपुर अस्पतालमा ३० दिने एडभान्स बर्न केयर तालिम सञ्चालन।
- पहिलो चरणमा नारायणी अस्पताल र सुर्खेत प्रादेशिक अस्पतालका ८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम प्रदान।
सरकारले देशका सातवटै प्रदेशमा जलन (आगोले पोलेको) उपचार सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा यो प्रक्रिया अघि बढाइएको हो।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार सात प्रदेशका सात प्रमुख अस्पतालहरूमा 'स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल'अनुसार 'लेभल-३' जलन उपचार सेवा विस्तार गर्न लागिएको छ। हाल यी अस्पतालहरूमा सामान्य रूपमा मात्र जलनको उपचार हुँदै आएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम दिएर सम्बन्धित अस्पतालमै लेभल-३ सम्मको उन्नत उपचार सेवा प्रदान गर्ने सरकारको मुख्य तयारी रहेको छ।
कोशी प्रदेशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको नारायणी अस्पताल वीरगन्ज, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती अस्पतालमा यो सेवा विस्तार गरिनेछ। तालिमप्राप्त जनशक्तिले सम्बन्धित अस्पतालमा छुट्टै जलन वार्ड स्थापना गर्नुका साथै गुणस्तरीय उपचार सुनिश्चित गर्ने मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा दुई अस्पतालका चिकित्सकलाई तालिम
मन्त्रालयले पहिलो चरणअन्तर्गत नारायणी अस्पताल वीरगन्ज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै ३० दिने जलन उपचारसम्बन्धी एडभान्स बर्न केयर तालिम सञ्चालन गरेको छ। यसअघि मन्त्रालयले ती अस्पतालका स्वास्थ्यकर्मीहरूका लागि छदिने प्राथमिक जलन उपचार तालिमसमेत सम्पन्न गरिसकेको थियो।
कीर्तिपुर अस्पतालमा सञ्चालित हालको ३० दिने तालिममा नारायणी अस्पताल वीरगन्जबाट डा. प्रदीपकुमार ठाकुर, नगेन्द्र महतो, तबसुम बेगम र यस्मिन खातुन सहभागी भएका छन्। यसैगरी, सुर्खेत प्रदेश अस्पतालबाट डा. सोजन सापकोटा, रोशनी श्रेष्ठ, दलबहादुर विक र सुमन कँडेलसहित जम्मा आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले तालिम लिइरहेका छन्। यो तालिमपश्चात् उनीहरूले आआफ्नो अस्पतालमा जलन उपचार सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्नेछन्।





















