📌 मुख्य बुँदाहरू:
- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको 'भाइ मसला' आयात भएको छ।
- ओखर, काजु, बदाम, किसमिस र नरिवलको आयातबाट सरकारले ५९ करोड ३३ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
- गत आर्थिक वर्षमा कुल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सुक्खा फलफूल आयात भएकोमा यस वर्षको तीन महिनामै सोको ५० प्रतिशतभन्दा बढी भित्रिसकेको छ।
नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब अढाइ अर्ब रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ। भाइटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर सगुनका रूपमा दिने प्रचलनका कारण यस अवधिमा सुक्खा फलफूलको कारोबार उच्च हुने गरेको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार चाडपर्वमा अत्यधिक खपत हुने ओखर, काजु, बदाम, किसमिस र नरिवलको आयातका लागि मात्रै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ। यसरी भएको आयातबाट राज्यले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गर्न सफल भएको छ।
आयातको आकार र व्यापार प्रवृत्ति
गत आर्थिक वर्षमा कुल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सुक्खा फलफूल तथा नरिवल आयात भएको थियो। तर चालु आर्थिक वर्षको पहिलो तीन महिनामै गत वर्षको कुल आयातको ५० प्रतिशतभन्दा बढी भ भइसकेको छ। यसले चाडपर्वका बेला नेपाली बजारमा भाइ मसलाको माग उच्च रहने गरेको तथ्यलाई स्पष्ट पार्छ।





















