📌 मुख्य बुँदाहरू:
- नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड।
- युवाहरूलाई रोजगारी खोज्नमा मात्रै सीमित नराखी प्रविधि उद्यमी बनाउनुपर्ने विज्ञहरूको भनाइ।
- मेशिन लर्निङ, डेटा साइन्स र साइबर सुरक्षाजस्ता क्षेत्रमा नयाँ रोजगारीका अवसर सिर्जना भइरहेको औँल्याइएको।
विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई नेपाल) ले नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले प्रविधिको उपयोगमार्फत उच्च मूल्यका नयाँ रोजगारी सिर्जना गर्न सकिने धारणा राखेका हुन्।
‘एआई एण्ड हाई–टेक करिअर्सः क्रियटिङ द नेक्स्ट जेनेरेसन अफ इम्प्लोयमेन्ट इन नेपाल’ शीर्षकको उक्त कार्यक्रममा प्रविधिले श्रम बजारमा ल्याएको परिवर्तन र नेपालको सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालले अब श्रम बजारको ढाँचा परिवर्तन गरी बौद्धिक र प्राविधिक क्षमता बाहिर पठाउने मोडल अपनाउनुपर्ने बताएका छन्।
प्रविधि निर्यात र डिजिटल अर्थतन्त्रमा जोड
कार्यक्रममा सीएसआरआई नेपालका अध्यक्ष तथा वल्र्ड एआई एलायन्सका सल्लाहकार डा. शालिग्राम पराजुलीले नेपालले शारीरिक श्रम निर्यात गर्ने परम्परागत परिपाटीलाई बदलेर मानव बौद्धिकता, प्रविधि र डिजिटल सेवा निर्यात गर्ने विकास मोडल अवलम्बन गर्नुपर्ने बताए। नेपाललाई एआई नवप्रवर्तन, साइबर सुरक्षा, बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) तथा प्रविधि निर्यातको गन्तव्य बनाउनुपर्ने उल्लेख गर्दै उनले युवाहरूलाई रोजगारी खोज्नमा मात्रै सीमित नराखी प्रविधि उद्यमी बनाउनुपर्ने धारणा राखे।
दिगो स्टार्टअप प्रणालीका लागि अनुसन्धान कोष, इन्क्युबेसन, मेन्टरशिप र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्न सरकार, निजी क्षेत्र, विश्वविद्यालय र लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। यसैगरी, सीएसआरआई नेपालका संस्थापक अध्यक्ष तथा क्यान महासङ्घका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रविधिमा आएको रूपान्तरणसँग अनुकूल हुन नसक्नेहरूका लागि आगामी दिन थप चुनौतीपूर्ण हुने बताए। श्रमको सट्टा बौद्धिक र प्राविधिक क्षमता निर्यात गर्नुपर्नेमा जोड दिँदै उनले बजारको माग अनुसार समयमै नयाँ सीप सिक्नुपर्ने र प्रविधिको प्रयोग गर्दा मानवीय चेतना एवं विवेकलाई सधैँ सजग राख्नुपर्ने उल्लेख गरे।
नयाँ प्राविधिक भूमिकाहरूको बढ्दो माग
छलफलका क्रममा एआईको विकाससँगै बजारमा प्राविधिक तथा गैर–प्राविधिक भूमिकाहरूको माग बढ्दै गएको विषयमा समीक्षा गरिएको थियो। मसिन लर्निङ इन्जिनियर, प्रम्प्ट इन्जिनियर, डेटा साइन्टिस्ट, रोबोटिक्स इन्जिनियर जस्ता प्राविधिक विज्ञहरूसँगै डेटाको गोपनीयता र नैतिक प्रयोग सुनिश्चित गर्न एआई अडिटर, नीति निर्माता र साइबर सुरक्षा विज्ञहरूको खाँचो औँल्याइएको छ। स्वास्थ्य निदान, ऊर्जा इन्जिनियरिङ सर्वेक्षण र बजार अनुसन्धान जस्ता क्षेत्रहरूमा मानव र एआईको सहकार्यबाट नयाँ रोजगारीका अवसरहरू सिर्जना भइरहेको तथ्याङ्क पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।




















