📌 मुख्य बुँदाहरू:
- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत २४औँ खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ।
- समान ८–८ अंक जोडेका काठमाडौं र सुदूरपश्चिमबीचको आजको विजेता टोलीले प्लेअफमा आफ्नो स्थान पक्का गर्नेछ।
- आजै साँझ ५ बजे हुने अर्को खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्।
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को २४औँ खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको यस खेलमा सुदूरपश्चिमले टस हारेर ब्याटिङको निम्ता पाएको छ।
काठमाडौं गोर्खाजको यो छैटौँ लिग खेल हो भने सुदूरपश्चिम रोयल्सले भने आज आफ्नो लिग चरणको सातौँ तथा अन्तिम खेल खेल्दैछ। हालसम्म खेलेका ५ खेलमा ४ जित र १ हारसहित काठमाडौंले ८ अंक जोडेको छ। यता, सुदूरपश्चिमले भने ६ खेलमा ४ जित र २ हारसहित समान ८ अंक नै जोडेको छ। आजको खेलमा विजयी हुने टोलीले सीधा प्लेअफमा स्थान बनाउनेछ।
अन्य खेलहरूको समीकरण
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्। जनकपुर र चितवन दुवैलाई प्लेअफ दौडमा कायम रहन आजको खेल जित्नैपर्ने दबाब रहेको छ।
५ खेलबाट ५ अंक जोडेको चितवनलाई अबका बाँकी खेलमा जितको विकल्प छैन भने, अन्तिम खेल खेल्न लागेको जनकपुरलाई जितका साथै अन्य टोलीसँगको नतिजामा समेत निर्भर हुनुपर्ने अवस्था छ। ५ खेलबाट ४ अंक मात्र जोडेको जनकपुरलाई आजको जितले ६ अंकमा पुर्याउनेछ, तर प्लेअफका लागि अन्य टोलीको हार वा जितको समेत भर पर्नुपर्ने हुन्छ।




















