📌 मुख्य बुँदाहरू:
- नागरिक लगानी कोषले लगानीको दायरा फराकिलो बनाउँदै ठूला पूर्वाधार तथा रणनीतिक परियोजनामा लगानी बढाउनुपर्ने सांसदहरूको जोड।
- सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सुरुङमार्ग र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा सहकार्य गर्न सुझाव।
- कोष परिचालनमा सामाजिक सुरक्षा कोष मुख्य बाधक बनेको र संस्थागत प्रतिस्पर्धामा जटिलता थपिएको कार्यकारी निर्देशक पर्वतकुमार कार्कीको भनाइ।
काठमाडौँ । सांसदहरूले नागरिक लगानी कोषले आफ्नो लगानीको दायरा फराकिलो बनाउँदै ठूला पूर्वाधार तथा रणनीतिक परियोजनाहरूमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा कोषको लगानी सीमित रहेको उल्लेख गर्दै सांसदहरूले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने धारणा राखेका हुन्।
बैठकमा सत्तारुढ दलका सांसद सुशील खड्काले पीपीपी मोडलमा लगानी गर्न कानुनले नागरिक लगानी कोषलाई नरोक्ने भन्दै सुरुङमार्गलगायत दीर्घकालीन पूर्वाधार र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा सहकार्य गर्न आग्रह गरे। उनले सरकारले एक्लै लगानी गर्न नसक्ने अवस्थामा कोषजस्ता संस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले पनि पर्यटन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा योगदान पुग्न सक्ने अधुरा योजनाहरू अघि बढाउन कोष आफैँले परियोजना छनोट गरेर कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने बताए।
सामाजिक सुरक्षा कोष मुख्य बाधक रहेको कार्यकारी निर्देशकको दाबी
बैठकमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले समान प्रकृतिको काम गर्ने अन्य संस्थाको उपस्थिति प्रतिस्पर्धाका रूपमा रहेको र कोष परिचालनमा सबैभन्दा बढी सामाजिक सुरक्षा कोष नै मुख्य बाधक देखिएको बताएका छन्। उनका अनुसार पछिल्लो समय सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषमा सहभागी भइसकेका संस्थाहरूलाई समेत पत्राचार गरी अनिवार्य आबद्ध हुन दबाब दिने प्रचलन बढेको छ।
त्यस्तै, जनशक्तिको अभावका कारण कोषले पुँजी बजारमा समेत निजी क्षेत्रका सेवाप्रदायक संस्थाहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको कार्यकारी निर्देशक कार्कीले जानकारी दिए। उनले हकप्रद सेयरमार्फत तुरुन्तै पुँजी सङ्कलन गर्ने उद्देश्य नभई ऐनले तोकेको अधिकृत पुँजीभित्रै रहेर आम्दानीअनुसार बोनस सेयरमार्फत क्रमिक रूपमा पुँजी वृद्धि गर्ने योजना रहेको स्पष्ट पारे।
लगानी नीति र सुधारका लागि संसदीय समितिको सहयोग
सांसद सुशील खड्काले योगदानकर्ताको रकम परिचालन गर्ने भएकाले कोषले अत्यधिक जोखिम लिएर आक्रामक लगानी गर्न नहुने, तर जोखिमको कारण देखाउँदै सम्भावित लगानीका अवसरबाट पछि हट्न पनि नहुने स्पष्ट पारे। हाल कोषले दुईवटा क्षेत्रमा मात्रै लगानी गरेको र त्यसमध्ये पनि करिब ५० प्रतिशत लगानी कोषकै रहेको उल्लेख गर्दै नयाँ क्षेत्र तथा सम्भावनाको खोजी गर्नुपर्नेमा उनको जोड थियो।
लगानी विस्तार र नीतिगत सुधारका क्रममा कोषलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न संसदीय समिति तयार रहेको बताउँदै उनले आवश्यक परे अर्थ मन्त्रालय तथा सरकारलाई निर्देशन दिन सकिने र कोषमाथि कुनै प्रकारको विभेद भएको भए समितिले त्यसलाई गम्भीरतापूर्वक हेर्ने बताए। यस विषयमा अर्थ मन्त्रालयका सचिवसँग समेत छलफल गरी आवश्यक समाधान खोजिने उनले जानकारी दिए।




















