२९ साउन, मेचीनगर : दशदिन अघिको अविरल वर्षाका कारण विस्थापितको अवस्थामा पुगेका झापा मेचीनगर —६ काँकरभिट्टाका पहिरो पीडितहरूलाई कोशी प्रदेश सरकारका खानेपानी तथा उर्जा मन्त्री एकराज कार्कीसहितको टोलीले गाउँमै पुगेर भेटघाट गरेको छ ।
वर्षासँगै आएको बाढी र पहिरोमा परी घरमा क्षति पुग्दा स्थानीय ज्ञानबहादुर गिरी टंकबहादुर भारती यतिखेर विस्थापित हुने अवस्थामा पुगेका छन् ।मन्त्री कार्कीसहित संविधानसभा सदस्य तथा मेचीनगर नगरपालिकाका प्रथम नगरप्रमुख रविन कोइराला, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ , मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर नगरपालिका वडानम्बर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्यहरू ध्रुवकुमार राई,भविन्द्र सुब्बा, जलस्रोत तथा सिँचाइ विभाग डिभिजन झापाका इञ्जिनियरहरू हरिकृष्ण आचार्य, विन्देश्वर साहलगायतको प्राविधिकसहित टोलीले पहिरो गएको ठाउँको स्थलगत निरीक्षण गर्दै पीडित परिवारलाई राहतलगायत थप क्षति हुन जोगाउन के गर्न सकिन्छ भन्ने विषयमा पहिरो पीडितहरुसँगको भेटघाटमा कुराकानी भएको थियो ।

मेचीनगर नगरपालिका प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले मन्त्री र सरोकारवालाई पीडितलाई आवास र भत्किएको तटबन्ध बनाउनका लागि ध्यानाकर्षण गराउँदैं हालसम्म भईरहेको पहलका विषयमा जानकारी गराएका थिए । नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती र मेचीनगर वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले उच्च जोखिम र जोखिममा परेका ३५ घरको संरक्षणका लागि प्राविधिकले करिव नौं करोड रुपैयाँको इस्टमेट मन्त्री कार्कीसहितको प्राविधिक टोलीलाई जानकारी गराएका थिए । त्यसका लागि प्रदेश र संघीय सरकारसँग पहल भइरहेको नगरप्रमुख बुढाथोकीले जानकारी गराए ।
जिल्ला विपद् व्यवस्थापन समिति, नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितित तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिले समेत यसक्षेत्रको स्थलगत निरीक्षण गरिसकेको र पहिरो पीडितक्षेत्रका पीडितहरुको अवस्था र बाढीले पुर्याएकाको क्षतिका विषयमा बैठकमा छलफल भएको उनीहरुले मन्त्रीसहितको टोलीलाई जानकारी गराएका थिए । उच्च जोखिममा रहेका स्थानीयलाई जतिबेला पनि पहिरो आएर घर भत्कने भएकाले तत्काल विकल्पका रुपमा सुरक्षित आवास व्यवस्था गरिने मेचीनगर पालिकाले जनाएको छ ।

मन्त्री कार्कीले घरको प्रकृति हेर्दा तत्कालका लागि पानी तर्काउने काम बाहेक केहि गर्न नसकिने बताए । ‘अहिले बजेट हालेर काम गर्न सकिने अवस्था छैन’, मन्त्री कार्कीले भने–‘बर्खा सकिएपछि सबैसँग सल्लाह गरेर बजेट राखेर दिर्घकालिनरुपमा यसको समाधान गर्ने बताए । तत्काललाई पानी रोक्न र थप क्षतिहुाबाट जोगाउनका लागि नगरपालिकाले र अन्य क्षेत्रका सामाजिक संघ–संस्थाले त्रिपालको माध्यमबाट काम गरिरहेको बताइएको छ ।
संविधानसभा सदस्य, नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाका प्रथम मेयर रविन कोइरालाका अनुसार तत्काललाई पानी परेर असर गर्ने भएकाले पानी जम्न दिनु हुँदैन । रोक्नु पर्छ । घरलाई छुनु हुँदैन जोखिम छ । दुई महिनापछि राज्यले जनताको तटबन्धनबाट काम गर्नु पर्छ ।
कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले बर्खा सकेपछि बजेटको व्यवस्थापन गरेर काम अघि बढाउने बताए । साउन १८ गते दिउँसो १ वजे वर्षासँगै आएको पहिरोले मेची टोल विकास संस्थाका भारती र गिरीको घरको पछाडी पटिको भाग भत्काइदिएको छ । गिरीको दुई तलाको जस्ताको छाना भएको घरको भान्सा र पर्खाल भत्किएको छ । प्रहरीले पहिरोबाट करीब २० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक प्रतिवेदन तयार गरेको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोबिन्द गिरी, समाजसेवी केवलराम राईसहितको टोलीले पहिरो पीडित ज्ञानबहादुर गिरी टंकबहादुर भारतीलाई भेटेर पहिरोले क्षति पुर्याएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

यता पहिरो पीडितहरुले भने आकाश कालो हुन साथ पानी पर्न थालेपछि पहिरोका कारण थप क्षति हुने डरले रातभर निन्द्रा नलाग्ने टोलीलाई पीडा सुनाए । पहिरोको अवस्था हेर्दा डर लाग्दो र गाउँनै पूरै जोखिममा रहेकाले प्रभावित क्षेत्रका मानिसलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने मेची टोल विकास संस्थाका अध्यक्ष दीलप्रसाद राईको भनाई छ ।
यसअघि पनि जोखिममा रहेका घरहरुको नगरप्रमुख बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख उप्रेती, वडाध्यक्ष तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।




































