पाँच महिनामा छ करोड बढीको गोलभेँडा आयात : नौ सय ३२ प्रतिशतले राजस्व बृद्धि

२३ पुस, मेचीनगर : काँकरभिट्टा नाका भएर आयात हुने सवैभन्दा बढी राजस्व बृद्धि भएका प्रमुख दश वस्तुहरुमध्ये गोलभेडा पहिलो स्थानमा छ । चालू आर्थिक वर्ष २०८२-८३ मा विदेशबाट छ करोड ८४ लाख ७४ हजार रुपैयाँ बराबरका गोलभेँडा आयात भएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार साउनदेखि मंसिर महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको २६ लाख ७६ हजार पाँच सय २० किलोग्राम गोलभेँडा आयात भएको हो । पाँच महिनाको अवधिमा उक्त मूल्यको गोलभेँडा आयात हुँदा कार्यालयले ८२ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो नाका भएर ३७ लाख ३० हजार रुपैयाँ मुल्य बराबरको एक लाख ३८ हजार छ सय ५० किलोग्राम गोलभेँडा आयात भएको कार्यालयको अभिलेखले देखाएको छ । गोलभेँडा आयातबाट त्यो अवधिमा कार्यालयले आठ लाख दुई हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको भनाई छ ।

अघिल्लो आर्थिक वर्षको पाच महिनाको अवधि र चालु आर्थिक वर्षको पाँच महिनाको तुलानात्मक रुपमा ७४ लाख ७२ हजार रुपैयाँ वा नौ सय ३२ प्रतिशत दुईले राजस्व बृद्धि भएको कार्यालयको अभिलेखमा छ । नेपालमा भारत र इण्डोनेसियादेखि गोलभेँडा आयात हुने गरेको छ । यी दुई मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै गोलभेँडा आयात हुने व्यवसायीहरुको भनाई छ ।

नेपाली उत्पादनले सम्पूर्ण देशको माग नै धान्ने समयमा समेत भारतबाट निर्वाध गोलभेँडा भित्रिरहेको हुन्छ । जेठ, असार र साउन महिना नेपालमा गोलभेँडा उत्पादनको सिजन मानिन्छ । तर, यस अवधिमा भारतबाट गोलभेँडा निर्वाधरुपमा आउँदा स्वदेशी उत्पादनले बजार पाइरहेको छैन ।

यसैगरी, फ्रिज रेफ्रिजेरेटर आयातबाट राजस्व बृद्धि प्रतिशत छ सय २६ दशमलव नौ प्रतिशत छ । गत आर्थिक वर्ष २०८०-८१ को पहिलो पाँच महिनामा काँकरभिट्टा नाका भएर तीन सय पाँच वटा फ्रिज आयत भएको थियो । चालु आर्थिकको सोहि अवधिमा दुई हजार सात सय ६७ वटा फ्रिज आयात भएको छ ।

चार करोड छ लाख १४ हजार रुपैयँँ मुल्यको फ्रिज आयात गर्दा भन्सारले एक करोड २१ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आवमको यहि अवधिमा एक करोड ४२ लाख४० हजार रुपैयाँका फ्रिज रेफ्रिजेरेटर आयात वापत १६ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । नेपालमा आयात हुने फ्रिज, रेफ्रिजेरेटर लगायतका वस्तु चीन, बंगलादेश, भारतलगायतका देशबाट आउँछन् । यसबाहेक इन्डोनेसिया, कोरिया, मलेसिया लगायतबाट पनि आउने गरेको तथ्याङ्कले देखाउँछ । नेपालमा आउने सबैभन्दा धेरै रेफ्रिजेरेटर र फ्रिज चीन र भारतबाटै आउने गरेको छ ।

होजियारी कपडा पाँच सय ७० दशमलव एक प्रतिशत, सल, दोसल्ला र पछ्यौरा चार सय ७९ दशमलव एक प्रतिशत, भटमासको पिना तीन सय ६१ दशमलव नौ प्रतिशत , विद्युतीय मोटरसाइकल तीन सय ५१ दशमलव सात प्रतिशत, कपालमा प्रयोग हुने श्रृगारका सामान तीन सय तीन दशमलव नौ प्रतिशत, तयारी कपडा दुई सय ३३ दशमलव शुन्य प्रतिशत, काइयो तथा हेयर पिन, स्लाइड्स समेत दुई सय ३१ दशमलव सात प्रतिशत र चिनियाँ माटाका भाँडाकुँडा दुई सय १७ दशमलव पाँच प्रतिशत राजस्व संकलनमा बृद्धि भएको कार्यालयको अभिलेखले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.