९ माघ मेचीनगर : झापाको मेचीनगरमा तीनदिने रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव २०८२ हुने भएको छ ।
दोस्रो संस्करणका रूपमा आगामी माघ १५ देखि १७ गतेसम्म मेचीनगर १० नन्दा करिडोरमा महोत्सव सञ्चालन हुने आज आयोजक नन्दा करिडोर प्रवद्र्धन केन्दले जनाएको छ । पहिलो महोत्सव निक्कै प्रभावकारी भएकाले दोस्रो संस्करणको परिकल्पना गरिएको हो ।
प्राचीन वस्तुहरूको खुल्ला प्रदर्शनी , खुल्ला चित्रकला प्रदर्शनी, रैथाने खानाको महत्व सम्बन्धि प्यानल छलफल, रैथाने खाना पाक प्रतियोगिता विभिन्न सांस्कृतिक नृत्य झाँकी प्रदर्शन र खुल्ला बुद्धिचाल प्रतियोगिता महोत्सवका मुख्य आकर्षणहरू रहेको पत्रकार सम्मेलनमा बताईयो ।
करीब चार लाख रूपैयाँ खर्च अनुमान गरिएको महोत्सव सम्पन्न गर्नका लागि एक लाख ३३ हजार रूपैयाँ पर्यटन कार्यालय काँकडभिट्टासँग सम्झौता भएको र दुई लाख रूपैयाँ मेचीनगर नगरपालिकासँग माग गरिएको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार गाउँघरमा पाईने रैथाने खाद्यान्न शहर बजारका सुविधा सम्पन्न ठुला र पाँचतारे होटलमा पुर्याउन पनि महोत्सव आयोजना गर्न लागिएको हो ।

रैथाने खानामा कोदोको केक, कोदोको ब्रेड,कोदोको सुप, कोदो र चामलको सेल रोटी, कोदोको ढिँडो, टमाटरको अचार र फापरको पकौडा स्टलमा रहने छन् । ट्राभल मञ्च झापा, नेपालका उपाध्यक्ष निरज श्रेष्ठका अनुसार महोत्सवमा किसान समुदायको परिकारहरू, झिँगे माछा फ्राई, गंगटा फ्राई, घुँगी झोल हालेको, पैँया माछा फ्राईसहित किसान समुदायको परम्परागत र आफ्नो पहिचान झल्किने सामुहिक नृत्य प्रदर्शन हुने छ ।

राई समुदायको वाचीपा कुखुराको मासु र भात, कोदोको जाँड,फिलुङ्गेको अचार, कोदोको ढिँडो र चण्डी नाच प्रस्तुत हुने छ । मेचे समुदायको परिकारहरू योङ खारइ चामलको पिठो र मासु, बिथै व्यख्रै रक्तिको परिकार, लाफा फेल्खा सागको परिकार, नाफनम लादु माछाको धुलो अच्चार, थाछो बाठन कच्छुको अचार, पैस्था बाठन बेलचनको अचार र मेचेको सांस्कृतिक बागुरूम्बा,बारद, सिख्ला, बैसागु नृत्यहरू महोत्सवमा प्रदर्शन हुने छ ।



































