काठमाडौँ — कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै यसले अस्पतालका ओपीडी, शल्यक्रियादेखि अन्य सेवामा प्रभावित पारेको छ । संक्रमण र लकडाउनका कारण सुरक्षित गर्भपतन सेवामा पनि उत्तिकै असर परेको छ । यस्तै मारमा परेकी प्रतिनिधि पात्र हुन् – ललितपुरकी २३ वर्षीया युवती । थाइराइड समस्यामा कारण उनको महिनावारी गडबडी भइरहन्थ्यो ।
लकडाउनको समयमा पनि तीन महिना महिनावारी रोकिएपछि उनी अस्पताल पुगिन् । पिसाबको जाँच गराउँदा गर्भवती भएको रिपोर्ट आयो । अविवाहित भएका कारण उनी सन्तान जन्माउन चाहन्थिनन्, गर्भपतन गराउन खोजिन् । ‘यसको लागि के गर्नु पर्छ, कहाँ जानुपर्छ, कति खर्च लाग्छ केही थाहा थिएन,’ उनले भनिन्, ‘घरसमाजमा थाहा पाए भने मुख देखाउनलायक भइँदैन ।’
धेरैपटक अस्पतालको ढोकासम्म पुगेर फर्किएको उनले बताइन् । लगभग १२ हस्ताको गर्भ भएकाले औषधिद्वारा गर्भपतन गराउँदा जोखिम भएपछि शल्यक्रिया नै गर्नुपर्ने परामर्श पाइन् । कतै पीपीई छैन त कतै आकस्मिक बाहेक सबै शल्यक्रिया सेवा बन्द छ भनेर उनलाई फर्काइयो । अन्तत: औषधि खाएर उनले गर्भपतन गराइन् । ‘एक महिनासम्म रगत बग्न रोकिएन । कमजोरी गर्दा ओछ्यानबाटै उठ्नै नसक्ने हुँदो रहेछ,’ उनले भनिन्, ‘फेरि अस्पताल गएर भिडियो एक्सरे गर्दा राम्ररी सफा नभएको पत्ता लाग्यो, भ्याकुम लगाएर पाठेघर सफा गरेपछि अहिले ठिक छु ।’
उनी जस्तै गर्भपतनका कारण जटिलता पैदा भएका राजधानीका विभिन्न अस्पतालका आकस्मिक कक्षमा भर्ना भएका केही महिला र किशोरीसँग संवाद गर्दा अधिकांशले स्वास्थ्य संस्था पुग्न असहज भएको या अस्पताल पुगे पनि सेवा बन्द भएका कारण फर्किनु परेको बताए थिए । सेवा अवरुद्ध हुँदा ती महिलाले फार्मेसीबाट औषधि कनेर प्रयोग गर्दा उनीहरूमा अत्यधिक रक्तश्राप हुने, बेहोस हुने र रगतमा संक्रमण हुने जस्ता समस्या आएको थियो र अस्पताल नै भर्ना भएका थिए ।
गर्भपतनबारे कानुनी ज्ञानको कमी,सामाजिक लाञ्छना र सेवाको पहुँच नहुँदा नेपालमा सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी (५८ प्रतिशत) छ । कोरोनाका कारण यसको जोखिम झनै बढेको विशेषज्ञ बताउँछन् । स्वास्थ्य सेवा विभागको, परिवार कल्याण महाशाखाले चैतमा लकडाउन घोषणा भएपश्चात गरेको अध्ययनअनुसार २६ प्रतिशत महिला गर्भपतन सेवा पाउनबाट वञ्चित छन् ।
‘पहिलो कारण त लकडाउनका कारण महिला स्वास्थ्य संस्था पुग्नै सकेनन्,’ महाशाखा प्रमुख डा. पुण्या पौडेलले भनिन्, ‘अर्को कारण भनेको स्वास्थ्यकर्मीको चरम अभाव हो ।’ उनका अनुसार सुरक्षित कोरोना संक्रमणअघि पनि गर्भपतन गराउन सक्ने तालिमप्राप्त स्वास्थ्य जनशक्तिको अभाव थियो, भएका जनशक्ति पनि कोरोना संक्रमितको उपचारमा खटिने, आफै संक्रमित हुने अनि क्वारेन्टाइनमा बस्ने गर्दा सेवा दिने जनशक्ति नै नभएका हुन् ।
महाशाखाले देशैभरका स्वास्थ्य संस्थामा अनुगमन गर्दा अधिकांश अस्पतालमा सुरक्षात्मक सामग्रीको अभावले गर्दा महिनौंसम्म गर्भपतन सेवा अवरुद्ध थियो । ‘सेवा नपाएका कारण महिला र किशोरीले विभिन्न समस्या झेल्नुपरेका गुनासाहरू आए । त्यसपछि हामीले सबै स्वास्थ्य संस्थालाई यो सेवा अनिवार्य दिनैपर्छ भनेर निर्देशन दियौं,’ डा. पौडेलले भनिन्, ‘सुरक्षित गर्भपतन सेवा नपाउँदा महिलाहरू असुक्षित गर्भपतनतर्फ धकेलिने जोखिम हुन्छ, यसै पनि नेपालमा जोखिम मोलेर असुरक्षित गर्भपतन गराउनेको संख्या उच्च छ ।’
नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण (एनडीएचएस) सन् २०१६ को तथ्याकं अनुसार बर्सेनि हुने कुल गर्भपतनमध्ये ५८ प्रतिशतले असुरक्षित बाटो रोज्ने गरेका छन् । उपचार सहज नहुँदा यो समस्या बढ्ने खतरा अझै बढेर जाने भएकाले गर्भपतन सेवा कतै पनि रोक्नै नमिल्ने डा. पौडेलको भनाइ छ । सुरक्षात्मक सामग्रीको अभावका कारण सेवा नरोकियोस् भनेर विभागले विभिन्न संस्थाहरूको सहयोगमा पीपीई जुटाएर समेत अनुसार स्वास्थ्कर्मीलाइ बाँडेको उनले बताइन् ।
‘सेवा नपाउँदा कति महिलाले चिकित्सकको सल्लाहबिना फार्मेसीबाट औषधि किनेर खाने अथवा घरमै परमपरागत विधिबाट गर्भपतन गराउन खोजे । जसले जटिलता पैदा भएर अस्पताल नै भर्ना भएका छन्, ज्यान नै गएको घटना भने हामीले थाहा पाएका छैनौं,’ उनले भनिन्, ‘यस्तो बाटो रोज्दा अत्याधिक रक्तस्राव,रगतमा संक्रमण र बेहोस अवस्थामा महिला अस्पताल पुगिरहेका छन् ।’ नेपालमा मातृमृत्युदरका धेरै कारणमध्ये असुरक्षित गर्भपतन पनि एक हो ।
एनडीएचएस २०१६ का अनुसार अहिले पनि प्रतिलाख २३९ महिलाले गर्भवती, सुत्केरी या गर्भपतनको जटिलताका कारण ज्यान गुमाइरहेका छन् जसको ७ देखि १३ प्रतिशत कारण असुरक्षित गर्भपतन नै हो । दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा मातृमृत्युदर घटाएर प्रतिलाख ७० मा झार्ने लक्ष्य लिए पनि कोभिड-१९ को संक्रमणका कारण लक्ष्यप्राप्ति गर्न सम्भव नभएको डा. पौडेल बताउँछिन् ।
‘सरकारको ध्यान र सम्पूर्ण निति नियमहरू संक्रमण नियन्त्रणतर्फ मात्रै देखिन्छ । कोरोना मात्रै भनेर बस्दा यसले महिलाको स्वास्थ्यका लागि अघि सारिएका सबै योजना र लक्ष्यहरू पछि धकेलिँदै गइरहेका छन्,’ उनले भनिन्, ‘कोरोनासँगै हामीले स्वास्थ्यका अन्य पाटाहरूलाई पनि सँगै लगेर काम गर्न ढिला भइसक्यो ।’