कोरोना भाइरसको महामारी सुरुभएसँगै यसको जोखिममा वृद्धवृद्धा र दीर्घरोगीहरु रहेको भन्दै उनीहरूलाई सचेत हुन आग्रह गरियो । अहिलेसम्म पनि अत्यावश्यक काममा पनि सकेसम्म घरका अन्य सदस्यलाई पठाउने र लगभग बाहिर निस्कन स्वयंप्रतिबन्ध नै लगाएर बसेका छन् जोखिम समूहका व्यक्तिहरू ।
यही प्रतिबन्धका कारण हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमण हुने ६० वर्षमाथिका व्यक्तिहरूको संख्या न्यून छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० देखि ७० वर्षका वृद्धहरू अहिलेसम्म जम्मा ८८५ जनामा संक्रमण देखिएको छ । सोही उमेर समूहका वृद्धाहरू ४४६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, ७० देखि ८० वर्षका वृद्ध ३४८ र वृद्धा २२५ जनामा कोरोना संक्रमण देखिएको छ । ८० वर्षभन्दा माथिकाहरूमा १०१ जना पुरुष र ६५ जना महिलामा कोरोना संक्रमण भएको छ । यो संख्या देशभर संक्रमित ४५२७७ जनामध्येको हो ।
आइसोलेसनमा बसिरहँदा कोरोनाबाट त जोगाइएला तर यही आइसोलेसनका कारण भने वृद्धाहरू अन्य स्वास्थ्य समस्याबाट कति जोखिममा छन् त ? कोरोना संक्रमणको त्रासले घरभित्रै थुनिएर बसेका वृद्धाहरूमा लामो समयसम्म यही कारणले अरू स्वास्थ्यमा समस्या त सिर्जना हुने होइन ? यही प्रश्नको उत्तर अमेरिकाबाट प्रकाशित हुने वालस्ट्रिट जर्नलले विभिन्न मनोवैज्ञानिकहरूसँग खोजेको छ ।
जर्नलमा प्रकाशित रिपोर्र्टमा लामो समयसम्म घरभित्रै आइसोलेसनमा बस्ने वृद्धवृद्धाहरूमा अरू किसिमका स्वास्थ्य समस्या निम्तिन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।
पछिल्लो ६ महिनादेखि सिंगो समाज नै बुढेसकाल लागेका र दीर्घरोगीलाई कोरोनाबाट बचाउने ध्यानमा लागेको छ । बाहिर हिँडडुल गर्ने छोराहरू कोरोनाको आशंकाकै कारण बाबुआमालाई भेट्न जान छाडेका छन् । घर, अस्पताल या अन्यत्र जहाँ सुकै भए पनि अहिले बुढेशकाल लागेकाहरूलाई नातिनातिनाको स्पर्शको अभाव छ । उनीहरू लामो समयसम्म बच्चाहरूसँग छुट्टिएर बस्न बाध्य भएका छन् । अहिलेको कोभिडका कारण भेटघाट असम्भव हुँदा पनि वृद्धवृद्धाहरूमा भिन्दै खाले एक्लोपनले सताउने र अनेक स्वास्थ्य समस्या सिर्जना हुन सक्ने जर्नलमा प्रकाशित रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको विषय नेपाल जस्तो धेरै नातागोता र सम्बन्धसँग नियमित सम्पर्क हुने एवं हजुरबा÷आमाहरूको नातिनातिनाप्रति अगाध प्रेम हुने समाजमा झनै सान्दर्भिक हुने देखिन्छ ।
सो रिपोर्टअनुसार मानिसको मस्तिस्कले कसरी काम गर्छ भन्ने विषयमा खोजी गर्दै जाँदा वैज्ञानिकहरूले स्नायु र शारीरिक परिवर्तनहरूको स्पष्ट तस्वीर प्राप्त गरेका छन् । जुन मानिसहरू एक्लै बस्ने क्रममा उसको शारीरिक र स्नायु प्रणालीमा पर्ने प्रभावसँग सम्बन्धित छ । यी परिवर्तनहरूले यो वर्णन गर्न मद्दत गरेको छ कि किन एक्लै बस्ने र सामाजिक अन्तक्र्रिया गर्नेहरूमा धेरै मुटुरोग, डिमेन्सिया, अल्जाइमर जस्ता समस्याहरूले सताउने गर्छ ?
धेरै अनुसन्धानले देखाएको कुरा यो पनि हो कि सामाजिक रूपमा सक्रिय व्यक्ति र सामाजिक एकीकरणले त्यस समाजको सदस्यको स्वास्थ्य र दीर्घायुमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेलेको हुन्छ । त्यसको ठीक विपरीत आइसोलेसन जस्ता एक्लै बस्नुपर्ने नियमले विशेषगरी उमेर ढल्किएका मान्छेको स्वास्थ्यमा असर गर्ने जानकारहरू बताउँछन् । सोही जर्नलमा प्रकाशित रिपोर्टमा युटा विश्वविद्यालयका मनोविज्ञान प्रोफेसर बर्त उचिनोले भनेका छन् ‘प्रत्येक जैविक प्रणालीलाई मनोवैज्ञानिक सम्बन्धहरूले कुनै न कुनै रूपमा प्रभाव पारिरहेकै हुन्छ ।’ उचिनो सामाजिक सम्बन्धहरूले स्वास्थ्यलाई असर गर्ने तरिकाको बारेमा अध्ययन गरिरहेका प्राध्यापक हुन् ।
महामारीमा बस्नुपर्ने घरभित्रैको बसाइले केवल बुढापाका मात्रै होइन, बच्चाहरूलाई समेत असर गर्ने उचिनोको अध्ययनले देखाएको छ । किनकि प्रचुर स्वतन्त्रताको खोजी गर्ने बच्चाहरू सानै उमेरमा कडा नियम मानेर घरभित्रै बस्नुपर्दा उनीहरूले समेत नकारात्मक समस्याको सामना गर्नुपर्ने हुन्छ भन्ने उनको बुझाइ छ ।
त्यस्तै, फिनिक्सको मेयो क्लिनिककी रेजिस्टर एटोरिया बोदागीले भन्छिन् ‘सबै जना वृद्धवृद्धालाई यो रोगबाट जोगाउनको लागि जुन किसिमको विधि अपनाइएको छ, त्यो सही विधि होइन ।’