कोरोनाको भ्याक्सिन : विश्वमा के हुँदैछ, नेपालले के गर्नुपर्छ ?

कोभिड महामारीको नराम्रो पक्ष त थुप्रै छन् । राम्रो पक्षचाहिँ जुन रफ्तारमा औषधि उपचार, परीक्षण र भ्याक्सिनको विज्ञान र प्रविधिको विकास भइरहेको छ, त्यो अत्यन्तै सुखद छ । सामान्यतया पहिले-पहिले भ्याक्सिन बनाउन १५-२० वर्षसम्म लाग्ने गर्थ्यो । आजसम्म सबैभन्दा छिटो बनाइएको भ्याक्सिनलाई पनि ४ वर्ष लागेको थियो । अहिले भने एक वर्षभन्दा कम समयमा धेरै भ्याक्सिन परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।

भ्याक्सिन बनाउन धेरै समय लाग्ने केही कारण छन् । कुन एन्टिजन वा प्रोटिन प्रयोग गरेर भ्याक्सिन बनाउँदा भाइरसविरुद्ध प्रभावकारी हुन्छ भनेर प्रारम्भिक अध्ययन गर्दा नै लामो समय लाग्न सक्छ । भ्याक्सिन बनाउन साधन र स्रोत पनि धेरै लाग्ने गर्छ । यसमा लगानी गर्न जो कोही तयार हुँदैनन् । त्यसैले जुन पायो त्यही रोगको बारेमा भ्याक्सिन बन्दैन । किनकि त्यसले उत्पादक कम्पनीलाई फाइदा हुँदैन । हाम्रो जस्तो देशमा मात्र हुने संक्रामक रोगको भ्याक्सिन नबन्नुको कारण त्यही हो ।

भ्याक्सिनको प्रभावकारिता र सुरक्षाको सुनिश्चितताका लागि गर्नुपर्ने परीक्षण एकदम लामो हुने गर्छ । यसमा प्रक्रियागत र प्रशासनिक झण्झट पनि बढी हुन्छ ।

परीक्षणको अग्रपङ्तिमा रहेको भ्याक्सिन मे वा जून महिनातिरबाटै परीक्षण सुरु भइसकेको थियो, अक्टोबर महिनाको अन्त्यतिरसम्म आवश्यक संख्यामा तेस्रो चरणको परीक्षण हुने देखिन्छ । त्यसको एक महिनासम्म भ्याक्सिनको प्रभावकारिता हेर्नुपर्नेछ ।

धेरै पैसा, स्रोत साधन र लामो समय लाग्ने भएकाले भ्याक्सिन निर्माण कार्य जटिल र झण्झटिलो हुन्छ । यसपटक त विश्वव्यापी महामारी भएर धेरै कम्पनीहरू भ्याक्सिन बनाउन लागिरहेका छन् । किनकि कोभिडविरुद्धको भ्याक्सिन यो महामारीको अन्त्यका लागि एउटा महत्वपूर्ण औजार हो । त्यसैले कोभिडविरुद्धको भ्याक्सिन बनाउन धेरै कम्पनीले अर्बौं डलर नै खन्याएका छन् ।

यसपटक एउटा महत्वपूर्ण फाइदा के भइदियो भने सन् २००२/०३ मा सार्स कोरोना भाइरस आएको बेला त्यसविरुद्ध भ्याक्सिन बनाउनका लागि अध्ययन भएको थियो । त्यसबेला नै सार्स कोरोना भाइरसको कुन प्रोटिन वा एन्टिजिन प्रयोग गरेर भ्याक्सिन बनाउँदा उपयुक्त हुन्छ होला भनेर प्रारम्भिक ज्ञान हामीलाई थाहा भइसकेको थियो । त्यही ज्ञान यसपटक काम लाग्यो र अध्ययनको लामो समय बच्यो ।

अहिले हामीलाई सार्स कोरोना २ भाइरसको कुन प्रोटिन प्रयोग गरेर भ्याक्सिन बनाउदा ठीक होला भनेर लामो अध्ययन गर्नुपर्ने भएको भए भ्याक्सिन बनाउन यति छिटो काम हुने थिएन ।

त्यसैसँग सम्बन्धित अर्को महत्वपूर्ण पक्ष के हो भने यसबीच भ्याक्सिन डिजाइन प्रविधिमा धेरै परिवर्तन आएको छ । पहिले हामीसँग भाइरसलाई मारेर या शिथिल तुल्याएर बनाइएका भ्याक्सिनहरू हुन्थे । अहिले आरएनए भ्याक्सिन, डीएनए भ्याक्सिन,  भाइरल भेक्टोरड भ्याक्सिन जस्ता प्रविधि विकास भएका छन् । यिनीहरू पहिले उपलब्ध थिएनन् । यी नयाँ प्रविधिको प्रयोगले निकै छिटो भ्याक्सिन डिजाइन गर्न सम्भव भएको छ ।

एउटा उदाहरण दिन्छु, अमेरिकामा ‘इनोभियो’ भन्ने एउटा कम्पनीले जनवरी ११ मा सार्स कोरोना भाइरस २ को ‘जिन सिक्वेन्स’ पत्ता लगाएर इन्टरनेट राखेको केही घण्टामै केही ‘भ्याक्सिन क्यान्डिडेट’ डिजाइन गरिसकेको थियो । ‘मोडर्ना’ भन्ने कम्पनीले अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर त्यो जिन सिक्विन्स’ थाहा भएको २ महिनामा ‘भ्याक्सिन क्यान्डिडेट’ बनाएर क्लिनिकल ट्रायलमा लगिसकेको थियो । सामान्यतया वर्षौं लाग्ने यी कुरा केही हप्तामै भएको छ । स्रोत पनि सबैले भ्याएसम्म र सकेसम्म लगाएका छन् ।

विश्वभर के-कस्ता भ्याक्सिन निर्माणका क्रममा छन् ?

विगत ८ महिनाको अवधिभित्रमा लगभग १४० वटा भ्याक्सिनहरू परीक्षणको विभिन्न चरणमा छन् । अहिले लगभग ४७ वटा भ्याक्सिनहरू पहिलोदेखि तेस्रो चरणसम्मको ट्रायलमा छन् । त्यसमध्ये अन्तिम चरणमा पुगेका भ्याक्सिन ९ वटा छन् । तीमध्ये ३ वटा भ्याक्सिनलाई चीन र रसियाले सीमित आन्तरिक प्रयोगका लागि अनुमति नै दिइसकेका छन् । तर, ती अनुमतिका निर्णय केही विवादित भने छन् ।

अहिले परीक्षणका क्रममा रहेका धेरै भ्याक्सिनले भाइरल भेक्टोरड भ्याक्सिन प्रविधिको प्रयोग गरेका छन् । बेलायतको अक्सफोर्ड, चीनको क्यानसिनो, रूसको गामलेयाले बनाएका भ्याक्सिन त्यस्तै किसिमका हुन् । यो प्रविधिमा अन्य कुनै भाइरसको बाहिरी खोल प्रयोग गरेर त्यसभित्र जुन भाइरसको भ्याक्सिन बनाउनुपरेको हो, त्यही भाइरसको प्रोटिन कोड गर्ने ‘जेनेटिक मेटेरियल’ छिराइन्छ र भ्याक्सिन बनाइन्छ । अहिले खोलचाहिँ एडेनोभाइरसको बनाउने गरिएको छ । यो सामान्यतया रुघाखोकी लगाउने भाइरस हो ।

‘एडेनोभाइरस’ पनि कुनै मानिसलाई लाग्ने हुन्छन् भने कुनै जनावरलाई लाग्ने खालका हुन्छन् । यी दुवैखालमा भाइरस प्रयोग गरिएका भ्याक्सिन परीक्षणको क्रममा छन् । चीनको क्यानसिनो र रसियाको गामलेया इन्स्टिच्युटले बनाएको भ्याक्सिनमा मानिसमा हुने ‘एडेनोभाइरस’ प्रयोग गरिएको छ भने बेलायतको अक्सफोर्डले बनाएको भ्याक्सिनमा चिम्पान्जीमा हुने ‘एडेनोभाइरस’ प्रयोग गरिएको छ ।

अहिलेसम्म सापेक्षिक रूपले गरिएका साना अध्ययनले मानिसमा हुने ‘एडेनोभाइरस’ प्रयोग गरिएका भ्याक्सिनको प्रभावकारिता अलि कम हुन सक्ने सम्भावना देखाएका छन् । यी कुराको निर्क्यौल गर्न अन्तिम चरणका ठूला अध्ययनहरूको नतिजा पर्खिनुपर्नेछ ।

अरू भ्याक्सिनहरूमा डीएनए या आरएनएबाट बनेका भ्याक्सिनहरू पनि परीक्ष‌‌णको क्रममा छन् । हुन त यो प्रविधि प्रयोग गरेर अहिलेसम्म सफल भ्याक्सिन बनाइएको छैन । तर, यो प्रविधि सफल भयो भने छिटोछिटो भ्याक्सिन बनाउन निकै मद्दत पुग्नेछ । यद्यपि अहिलेसम्म प्राप्त प्रमाणअनुसार यस्ता भ्याक्सिनलाई माइनस ८० ड्रिग्रीमा स्टोर गर्नुपर्छ । त्योचाहिँ हामीलाई सम्भव नहुन सक्छ ।

यस्तै, अर्को ‘प्रोटिन‍‍‍‍ वेस्ड भ्याक्सिन’ पनि परीक्ष‌‌णको क्रममा छ । नोभाभ्याक्स भन्ने कम्पनीले बनाएको यो भ्याक्सिनमा  भाइरसको ‘स्पाइक प्रोटिन’ लिएर त्यसको आकार परिवर्तन गरिन्छ र त्यो प्रोटिनको साथसाथै प्रतिरोधात्मक क्षमता बढाउन सहायक वस्तु ‘एयाड्जुभन्ट’ पनि थपेर भ्याक्सिन बनाइन्छ । यो भ्याक्सिनको प्रारम्भिक अध्ययनले अत्यन्तै आशलाग्दो नतिजा देखाएको छ ।

पहिलेदेखि चलिआएको  ‘इनएक्टिभेटेड भ्याक्सिन’ प्रविधि प्रयोग गरेर पनि धेरै कम्पनीहरूले भ्याक्सिन बनाउँदै छन् । भारत बायोटेक, चीनको सिनोफार्म र सिनोभ्याक कम्पनीले बनाएका भ्याक्सिन यस्तै प्रकारका हुन् । यी भ्याक्सिनको राम्रो पक्ष के छ भने यो प्रविधि हामीले पहिलेदेखि जानेको र प्रयोग गरिरहेको प्रविधि हो । हामीलाई यसको फाइदा बेफाइदाका बारेमा थाहा छ । यसको उत्पादनबारे पनि हामीलाई राम्रो अनुभव छ ।

भ्याक्सिनको परीक्ष‌‌ण कसरी गरिन्छ ?

एउटा भ्याक्सिन डिजाइन गरिसकेपछि पहिले जनावरहरूमा परीक्षण गरिन्छ । प्रि-क्लिनिकल चर‌णको यस्तो अध्ययनले मानिसमा परीक्षण गर्नुअघि भ्याक्सिन सुरक्षित र प्रभावकारी छ कि छैन भनेर देखाउँछ । यो चर‌णको परीक्षणमा राम्रो नतिजा देखिएमा मानिसमा परीक्षण गरिन्छ जसलाई क्लिनिकल ट्रायल भनिन्छ ।

सामान्यतया तीन चरणमा गरिने यस्तो क्लिनिकल ट्रायलको पहिलो चरणमा एक सय जति कुनै रोग र अरू कुनै जोखिम नभएका व्यक्तिमा भ्याक्सिन सुरक्षित छ कि छैन भनेर जाँच गरिन्छ ।

कोभ्याक्स भनिने विश्वव्यापी संयन्त्रले १७२ भन्दा बढी देशहरूलाई सर्वसुलभरूपमा भ्याक्सिन उपलब्ध गराउन खोज्दैछ । नेपालले पनि त्यसैमा सहभागी हुने इच्छा सम्वद्ध निकायलाई जनाइसकेको छ । भ्याक्सिनको अर्को स्रोत हाम्रा छिमेकी देशहरू हुन सक्छन् ।

भ्याक्सिन दिएको केही हप्तादेखि महिनासम्म साइड इफेक्ट भए नभएको मिहीन ढङ्गले हेरेर गरिने त्यो परीक्षण सफल भएपछि हजारको हाराहारी संख्या व्यक्तिमा दोस्रो चरणको परीक्षणमा गर्ने गरिन्छ । यो चरणको परीक्षणमा भ्याक्सिन दिएपछि ‘एन्टिबडी’ उत्पादन भयो कि भएन, कति मात्रामा उत्पादन भयो, उत्पादित एन्टिबडीले भाइरसलाई निष्क्रिय बनाउन सक्यो कि सकेन भनेर भ्याक्सिनको प्रभावकारिताको जाँच गरिन्छ । यसका साथसाथै भ्याक्सिन कति दिने कसरी दिने भनेर पत्ता लगाइन्छ ।

दोस्रो चरणको परीक्षणमा सफल देखिएका भ्याक्सिनलाई तेस्रो चरणमा बृहत् रूपमा परीक्षण गरिन्छ । दशौं हजार मानिसमा गरिने यस्तो परीक्षणमा सहभागीलाई गोलाप्रथाबाट समान प्रकृतिका दुई समूहमा विभाजन गरिन्छ र एक समूहलाई भ्याक्सिन दिइन्छ भने अर्को समूहलाई भ्याक्सिन नभएको सुई अर्थात् प्लेसिबो दिइन्छ ।

अमेरिकाको एफडीएले जारी गरेको निर्देशिकाअनुसार भ्याक्सिनलाई आम मानिसमा प्रयोग गर्ने अनुमति दिनुअघि भ्याक्सिन दिइएको समूहका व्यक्तिमा अर्को समूहका व्यक्तिमा भन्दा ५० प्रतिशत कम संक्रमण भएको अध्ययनले प्रमाणित गर्नुपर्नेछ । यसका साथै कम्तीमा तीन हजार व्यक्तिमा ६ महिनासम्म भएका साइड इफेक्टको विवरण पनि पेश गर्नुपर्नेछ ।

भ्याक्सिन कहिलेसम्म आउला ?

अहिले परीक्षणको अग्रपङ्तिमा रहेको भ्याक्सिन मे वा जून महिनातिरबाटै केही हजार व्यक्तिमा परीक्षण सुरु भइसकेको थियो । साथै, सार्वजनिक गरिएको तालिकाअनुसार अक्टोबर महिनाको अन्त्यतिरसम्म आवश्यक संख्यामा तेस्रो चरणको परीक्षण हुने देखिन्छ । त्यसको कम्तिमा एक महिनासम्म भ्याक्सिनको प्रभावकारिता हेर्नुपर्नेछ । त्यतिन्जेल कम्तिमा तीन हजार व्यक्तिमा चाहिने साइड इफेक्टको विवरण पनि तयार हुनेछ ।

यी सबै तथ्याङ्क जम्मा गरेर नियामक निकायमा पेश गर्दा सन् २०२० को अन्त्यसम्म पुग्ने देखिन्छ । पेश गरिएको तथ्याङ्क तथा विवरणले उक्त भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएमा यो वर्षको अन्त्य या सन् २०२१ को सुरुवातमा भ्याक्सिनको आमप्रयोगका लागि अनुमति दिइने अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा पनि सबैलाई पुग्ने गरी भ्याक्सिन उत्पादन गर्न भने एक वर्षभन्दा धेरै समय लाग्नेछ ।

अहिले भइरहेका परीक्षण सफल भएनन् भने भ्याक्सिनका लागि अझै समय पर्खिनु पर्नेछ । अथवा विज्ञानभन्दा बाहिर गएर भ्याक्सिनको आम प्रयोगका लागि अनुमति दिइयो भने यहाँ अनुमान गरेभन्दा अगावै पनि भ्याक्सिन आउन सक्छ । तर, सम्पूर्ण प्रक्रिया नपुर्‍याई त्यसो गर्नुको नतिजा सुखद् नहुन पनि सक्छ ।

भ्याक्सिन कहिले आउने भन्ने कुरा अहिले आशाको कुरा हो । पहिलो चरणको क्लिनिकल ट्रायलमा गरिएका भ्याक्सिनहरूमध्ये लगभग ६ देखि १० प्रतिशत मात्र सफल हुने गर्छन् । त्यसमाथि कोभिड विरुद्धको प्रतिकार्यमा भ्याक्सिन धेरै औजारमध्येको एउटा विकल्प मात्र हो ।

 नेपालले भ्याक्सिन प्राप्त गर्न केके पहल गर्नुपर्छ ?

नेपालले भ्याक्सिन ल्याउन सक्ने स्रोत २ वटा छन् । एउटा विश्व स्वास्थ्य संगठन लगायतले खडा गरेको कोभ्याक्स भनिने विश्वव्यापी संयन्त्र छ । त्यसले विश्वका १७२ वटाभन्दा बढी देशलाई सर्वसुलभरूपमा भ्याक्सिन उपलब्ध गराउन खोज्दैछ । लगभग ८० जति धनी देशहरूसँग पैसा लिएर कोषमा राख्ने र बाँकी ९२ वटा देश, जसले पैसा तिर्न सक्दैनन्, उनीहरूलाई अनुदान/सहुलियतमा भ्याक्सिन दिने भनिएको छ । नेपालले पनि त्यसैमा सहभागी हुने इच्छा सम्वद्ध निकायलाई जनाइसकेको छ ।

कोभ्याक्सको राम्रो पक्ष के छ भने त्यो सबैलै सामूहिकरूपमा गरेको प्रयास हो । अहिले जम्मा गरेको पैसा भ्याक्सिनसम्बन्धी अनुसन्धान र उत्पादनमा लगाइएको छ । त्यसले एउटामात्र भ्याक्सिनको पछि नलागेर थुप्रै भ्याक्सिनलाई सपोर्ट गरिरहेको छ । सफल हुँदा जुनसुकै भ्याक्सिन लिँदा पनि हुन्छ ।

अफ्ठ्यारो के छ भने त्यो संयन्त्रले कम्तिमा पनि २ अर्ब मानिसलाई भ्याक्सिन पुर्‍याउने भनिएको छ । त्यो भनेको एकदमै ठूलो सङ्ख्या हो । त्यसका लागि पैसा पनि धेरै लाग्छ, जुन अहिलेसम्म सुनिश्चित भइसकेको छैन ।

भ्याक्सिनको अर्को स्रोत हाम्रा छिमेकी देशहरू हुन सक्छन् । संसारका सबैभन्दा ठूला भ्याक्सिन उत्पादकहरू भारतमा छन् । जसले डिजाइन गरे पनि आखिर धेरै भ्याक्सिन भारतमै उत्पादन हुने हुन् । त्यसैले भारतमा के हुँदैछ भनेर हामीले विभिन्न च्यानलबाट बुझ्दै गर्दा फाइदै हुन्छ ।

मैले बुझेसम्म बंगलादेशको एउटा फर्मास्युटिकल कम्पनीले भारतको एउटा भ्याक्सिन उत्पादकलाई भ्याक्सिन उत्पादन हुनेबित्तिकै पाउने गरी सम्झौता गरेको छ । नेपाललाई पनि त्यसै गर्दा सजिलो हुने देखिएको छ ।

हुन त हामीले चाहेर पनि उत्पादकले चाहने कि नचाहने भन्ने कुरो पनि महत्वपूर्ण छ । पहल गर्दैगर्दा थोरै मात्र भ्याक्सिन भए पनि छिटो ल्याउन सकियो भने अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी/ सुरक्षाकर्मीलाई पुग्ला । उनीहरूलाई सुरक्षित गर्न सकियो भने यो महामारीविरुद्धको प्रतिकार्यमा धेरै राहत हुने थियो ।

यसका साथै भ्याक्सिन उपलब्ध भएमा यसको वितरण कसरी गर्ने भनेर पूर्वतयारी गर्नु पनि उत्तिकै जरुरी छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.