विभेदकारी शिक्षा दिने कुनैपनि विद्यालयलाई प्रदेश सरकारले सहयोग नगर्ने: मुख्यमन्त्री कार्की

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अंग्रेजी र नेपाली माध्यमको नाममा विभेदकारी शिक्षा दिने कुनैपनि विद्यालयलाई प्रदेश सरकारले सहयोग नगर्ने बताएका छन् ।

महेन्द्र रत्न माध्यमिक विद्यालय विर्तामोड–३, झापाको ६६ औँ वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली र अंग्रेजी माध्यमको नाममा हुँदा खाने र हुने खाने वर्गबीचको विभेदकारी शिक्षा दिने कार्य तत्काल रोक्नुपर्ने बताएका हुन् ।

‘भाषा ज्ञान होइन माध्यम मात्रै हो,’ उनले भने, ‘विद्यालयमा धनीका छोराछोरीलाई अंग्रेजी र गरिबका छोराछोरीलाई नेपाली माध्यममा शिक्षा दिएर विभेद भइरहेको छ । अहिले लोकतान्त्रिक व्यवस्थामा कसैले कसैलाई विभेद गर्ने छुट कानूनले दिएको छैन ।’

हुने खाने र कर्मचारी वर्गले गरिब विद्यार्थीका लागि राज्यले दिने छात्रवृति सुविधा हात पार्न सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको विभेदकारी शिक्षा सुरु गरेको मुख्यमन्त्री कार्कीको आरोप छ ।

‘सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नभएको भन्दै निजी विद्यालयमा आफ्ना छोराछोरी पढाउन हुने खाने र कर्मचारी वर्गले किन समुदायिक विद्यालयमा पढाउन थालेका छन् ?,’ उनले भने, ‘निजीमा पढेका विद्यार्थीले उच्च शिक्षाका लागि सरकारले दिने छात्रवृति नपाएपछि सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यममा पढाउन लगाएका छन् । तर त्यो अंग्रेजी माध्यममा गरिबका छोराछोरीले भर्ना पाउँदैन । उनीहरूका लागि त्यही विद्यालयमा नेपाली माध्यममा पढाएर विभेद गरिरहेको छ ।’

धनी र गरिब भनेर दिने शिक्षाले गरिब विद्यार्थीमा सम्मानको भावना विकास हुन्छ कि विद्रोहको भन्दै मुख्यमन्त्री कार्की प्रश्न गरेका हुन् ।

‘विद्यालयले दिइरहेको विभेदकारी शिक्षाले हुँदा खाने र हुने खाने वर्गबीच खाडल बनाउँदै छ,’ उनले भने, ‘विद्यालयको प्रांगनमा हुँदाखाने र हुनेखाने वर्गका लागि छुट्टाछुट्टै शिक्षा दिने विद्यालयले म हुँदासम्म प्रदेश सरकारले सहयोग गर्दैन ।’

विद्यालयले हुँदा खानेको पैसाले हुने खाने वर्गलाई सहयोग गर्दै समान शिक्षा दिनुपर्ने उनको भनाइ थियो ।

पैसा अभावमा अब कोही गरिबका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनु नदिन प्रदेश सरकारले बजेट विनियोजन गरेको मुख्यमन्त्री कार्कीले बताए ।

‘डाक्टर बन्न चाहने गरिबका छोराछोरीको पैसा अभावमा पढाइ रोकिदैन,’ उनले भने, ‘चिकित्सा, पशु, कृषि, कानूनलगायतका विषयमा गरीवका छोराछोरीलाई पढाउन छात्रवृतिको व्यवस्था गरेर प्रदेश सरकारले मानवीय विकासका लागि पाइला चालिसकेको छ ।’

ज्ञान बाँड्ने थलो विद्यालय अहिले सर्टिफिकेट बाँड्ने कार्यालय भएको भन्दै मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरे ।

‘विद्यालय ज्ञान बाँड्ने थलो नै रहनुपर्छ र त्यसलाई ज्ञानको मन्दिर बनाइ राख्नु हामी सबैको दायित्व हो,’ उनले भने, ‘सामुदायिक विद्यालयहरूको नेपाली माध्यममा भइरहेको पठन पाठन सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएको छ ।’ एउटै विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा गुण्स्तरीय छ, तर नेपाली माध्यममा शैक्षिक वातावरण नै छैन । आखिर किन यस्तो विभेद ?’

नेपाली माध्यमका सामुदायिक विद्यालयहरू हुने खाने वर्गका बुहारी, स्वास्नी, छोरीहरूले जागिर खाने थलोको रूपमा समेत विकास भइरहेकोप्रति मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरे ।

‘शिक्षकहरूले विद्यार्थीहरूलाई दिएको ज्ञानको परीक्षा विपद्को बेला हुन्छ, आगलागी भइरहेको बेला विद्यार्थी तथा युवा वर्गले फेसबुक लाइभ गरेर रमाइलो गरिरहेको देखिन्छ,’ उनले भने, ‘शिक्षकले दिएको ज्ञान अहिलेका विद्यार्थीहरू विरोधमा लेख्दै समाजिक सञ्जालमा खन्याएको देखिन्छ । त्यसैले शिक्षक तथा गुरु वर्गले पनि कस्तो शिक्षा दिइरहेको बारे सोच्नैपर्ने बेला आएको छ ।’

अहिलेका विद्यार्थीहरूमा व्यवहारिक ज्ञानको अभाव रहेकाले समाज विकृत हुँदै गएको उनको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.