लक्ष्मी उप्रेती
६ असार, मेचीनगर : खुला सीमाको फाईदा उठाउँदै अवैधरुपमा हुने चोरी पैठारीको नियन्त्रण, विभिन्न विपद्मा परेकाको उद्धारदेखि सीमा सुरक्षासँगै सीमाक्षेत्रमा हुने चोरीतस्करीलगायत अवैध गतिविधि नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी उ आफै असुरक्षित झै छ ।
नेपालको सुदूरपूर्व झापाको मेचीनगरस्थित सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्मको हालत निक्कै दयनीय छ । शुरुमा सीमा सुरक्षा पोस्टका रुपमा रहेको थियो वर्तमान सीमा सुरक्षा गुल्म । २०६१ साल कात्तिक २१ गते पोस्टमा कार्यालय प्रमुखका रुपमा पहिलो पटक आएका थिए सशस्त्र प्रहरी निरीक्षक दलबहादुर श्रेष्ठ । त्यसअघि नेपाली सेनाको जिम्मामा थियो ।
करीब तीन महिना जतिमात्र पोस्टको कमाण्ड सम्हाले प्रहरी निरीक्षक श्रेष्ठले । त्यसपछि सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को दरवन्दी भए पछि पहिलो पटक सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) का रुपमा २०६१ साल पुस १३ गतेबाट लक्ष्मण सिलवालले नेतृत्व सम्हाले । उनले २०६२ साल जेठ ५ गतेसम्म कमाण्ड सम्हालेको अभिलेख छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विश्वबन्धु खड्का सीमा सुरक्षा पोस्टका अन्तिम कार्यालय प्रमुख हुन् । उनीसहित ३२ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुले पोस्टको नेतृत्व गरिसकेका थिए । पछि सीमा सुरक्षा पोस्टबाट राजस्व एवम् भन्सार गस्ती सुरक्षा गुल्मका रुपमा स्तरोन्नती भएपछि सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) लेखनाथ खनालले २०७० साल साउन २ देखि २०७१ साल भदौं २ गतेसम्म गुल्मपतिको जिम्मेवारी सम्हाले ।

२०७६ साल साउन १७ गते गुल्मपति भएर आएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानमणी पौडेलको २०७७ भदौ ७ गते सरुवा भएपछि सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रेमकुमार राईले २०७७ साल भदौ ७ गतेबाट बोर्डर आउट पोस्टको जिम्मेवारी सम्हाले । २०७९ साउन २७ गते राईको सरुवा भएपछि सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) निर्मल बस्नेतले कमाण्ड सम्हाले । बस्नेतले नेतृत्व गरेको आठ महिनापछि २०७९ साल चैत ११ गते उनको सरुवा भयो । बोर्डर आउट पोस्टबाट प्रस्तावित सीमा सुरक्षा गुल्ममा रुपान्तरण भए लगत्तै सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) निर्मलकुमार थापाले नेतृत्व गरे । उनीपछि सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) बीरेन्द्र खनाल, राजनलाल श्रेष्ठ, लोकनाथ उप्रेती, शम्शेरबहादुर कार्की, रामचन्द्र थापाले नेतृत्व गरे । अहिले सशस्त्र प्रहरी बल , नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टाका नाममा रुपान्तरण भएको र यसको नेतृत्व सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विकास थापाले गरिरहेका छन् ।
अचम्मको कुरा त के छ भने, सीमा सुरक्षा पोस्टबाट सीमा सुरक्षा गुल्म भईसकेपनि यहाँ खटिने सुरक्षाकर्मीहरुको हालत दयनिय छ । जो स्थानीयको सुरक्षा तथा आपतविपद्मा उद्धारका लागि जाने हो आज उसैको उद्धार गर्नुपर्ने अवस्था छ । स्थापनाकालदेखि मेचीनगर नगरपालिका–०६ स्थित मेची भन्सारको पछाडि र पश्चिमपट्टि अलि अग्लो डाँडास्थित एउटा शिवालय मन्दिरको स्वामित्वमा रहेको धर्मशालामा कष्टकररुपमा बस्दै आएको सशस्त्र प्रहरी अहिले पनि त्यहीँ छ । धर्मशालामा सुरक्षाकर्मीका लागि पर्याप्त कोठा छैनन् । अब त त्यो पनि जीर्ण र कमजोर भईसक्यो । पानी चुहिन्छ । ड्युटी सकेर आराम गर्न आउँदा राम्ररी सुत्ने ठाउँ समेत हुदैंन् । सुत्ने, बस्ने र आराम गर्ने ठाउँको अभाव हुँदा कति रात त नसुतीकनै बिताउनुपरेको स्मरण ताजै छ त्यहाँ कार्यरत सुरक्षाकर्मीहरुसँग ।
मन्दिरले धर्मशालाका रुपमा निर्माण गरेका पाँच कोठा र पछि सशस्त्रले अरु पाँचवटा कोठा निर्माण गरेको थियो । प्रहरी नायव उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) एक / एकवटा कोठामा बस्ने गरेका थिए । अन्य बाँकीमा सबै अटाउनुपर्ने बाध्यता छ । ‘आलोपालो अटाएर बस्छौ, पहिलेदेखि जसरी सञ्चालन भएको छ त्यसलाई अहिलेसम्म व्यवस्थापन गरेर दुःखका साथ बसेका छौँ ।’
हुन् त पछिल्लो समय झापाको मेचीनगर नगरपालिका वडा नम्बर -७ भान्साखोलामा जग्गा खरीद गरेर विभिन्न भौतिक संरचनाहरु निर्माण गरे पनि वर्खायाममा जलमग्न हुने गरेका कारण झन ठूलो समस्या पैदा भएको छ । अहिले पनि केही दिनदेखिको अविरल बर्षाका कारण सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म परिसर डुवानमा परेको छ । जस्का कारण त्यहाँ रहेका सुरक्षाकर्मीहरुलाई काम गर्न गाहे भएको छ । गतवर्ष पनि यसरीनै डुवानमा परेको थियो । नवनिर्मित भवनमा गुल्मपतिको कमाण्डमा अन्य सुरक्षाकर्मीहरु बस्ने गरेका छन् । सशस्त्र प्रहरीका लागि विभिन्न दृष्टिकोणले यो ठाउँ उपयुक्त नभएको स्वयम् सुरक्षाकर्मीहरु नै बताउँछन् । एकजना अधिकृतले अचम्म मान्दैं भने, ‘कस्ले किन्यो ? किन किन्यो ? जलमग्न र डुवान हुने क्षेत्र रहेछ । हामी अर्काको उद्धार गर्ने मानिस हामी नै हाम्रो उद्धार गरिदियौं भन्ने अवस्थामा पुगेका छौ । ’ यस विषयमा हामीले सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीसँग सम्पर्क गरेका थियौं । उनले बुझेरमात्र जवाफ दिने प्रतिक्रिया दिए ।
एकजना सुरक्षाकर्मीको भनाई । सीमा सुरक्षा गुल्म भएकाले कामको जिम्मेवारी पनि बढी हुने र बसाइँको व्यवस्थापन पनि सहज नभएको गुनासो उनीहरुको छ । सीमा क्षेत्रको सुरक्षाका लागि अहोरात्र खटिने सुरक्षाकर्मीको वास भने धर्मशालामा हुनु आश्चार्यजनक कुरा रहेको बताईएको छ । आफ्नो जग्गा र भवन नहुँदा सशस्त्र प्रहरीले धर्मशालाबाटै सीमाक्षेत्रको सुरक्षा गरिरहेको थियो । अहिले आफ्नै जग्गामा निक्कै संरचना निर्माण गरे पनि बर्षाका कारण डुबेपछि झनै ठूलो संकटमा सशस्त्र प्रहरी छ । धर्मशालालाई उस्ले मासिक भाडा तिर्ने गरेको छ । सीमाक्षेत्रमा अहोरात्र खटिनुपर्ने सशस्त्र प्रहरीका लागि पूर्वाधार सन्तोषजनक नभए पछि उनीहरुमा काम गर्ने उत्साह नहुने बताइएको छ ।

शिवालय मन्दिरले खर्च अभाव भएका व्यक्ति तथा असहायका लागि बस्ने व्यवस्था गर्ने उद्धेश्यले निर्माण गरेको धर्मशालामा सशस्त्र प्रहरी बस्न थालेपछि त्यस्ता व्यक्तिहरुलाई नजीकैको मानव सेवा आश्रममा लगेर राख्ने गरिएको बताइन्छ । जवसम्म भौतिकरुपमा संरचनाहरु पूर्ण हुदैनन् तवसम्म मानशिकरुपमा त्यहाँ कार्यरत सुरक्षाकर्मीहरुको मनोवल समेत उच्च हुदैंन् ।


























