जन्मदिनको अवसरमा उपचार कोषलाई रकम

२७ असार, मेचीनगर : नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

बिर्तासिटी इन्टरनेशनलका सञ्चालक समेत रहेका सापकोटाले जन्मदिनको अवसरमा विहिबार उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । बिर्तामोडस्थित प्रेस चौतारीको कार्यालयमा सापकोटाले संगठनका अध्यक्ष प्रदीप परियार, उपचार कोषको संयोजक भीमा शिवाकोटीलाई रकम हस्तान्तरण गरे ।
सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकारहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषलाई आफ्नो तर्फबाट सहयोग गर्दै सापकोटाले उधोगी, व्यवसायी एवम् सामाजिक अगुवाहरुलाई सहयोगका लागि आव्हान समेत गरे ।

उपचार कोषको संयोजक शिवाकोटीले जन्मदिनको शुभकामना दिदैं विशेष दिनलाई अध्यक्ष सापकोटाले रचनात्मक बनाएकोमा आभार व्यक्त गरीन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्ले, नेकपा एमाले झापाका सदस्य एवम् प्रेस चौतारीका इञ्चार्ज मनकुमार गदाल, पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी, कार्यसमिति सदस्य रविकिरण वान्तावा, भरत प्रसाई र सुर्योदय टिभीका देव बाँस्कोटाको सहभागिता रहेको थियो ।

कोषमा हालसम्म साढे ६ लाख रुपैयाँ संकलन भइसकेको छ । कोषमा संकलित सहयोग रकमको व्याजबाट पत्रकारहरुलाई उपचारमा सहयोग गर्ने गरिएको छ ।

 

Exit mobile version